जनार्जन खत्री
सर्लाही, पुस ११ गते । सर्लाहीको बसबरिया गाउँपालिका–३, भवानीपुरका वडाध्यक्ष नन्दलाल महतोको निधन भएको छ ।
कलेजोको क्यान्सर रोगबाट ग्रसित ६९ वर्षीय महतोको उपचारका क्रममा बुधवार राति चितवनको भरतपुरमा निधन भएको हो । महतो २०७२ र २०७९ को निर्वाचनमा लगातार दुई पटक नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । उहाँ २०५४ सालमा तत्कालीन भवानीपुर गाउँ विकास समिति (गाविस) को अध्यक्ष हुनुहुन्थ्यो ।
मृतक महतोको शव भरतपुरबाट बिहीबार बिहान घर ल्याएर अन्तिम संस्कारको तयारी भइरहेको बसबरिया गाउँपालिका निवासी नेपाली काँग्रेसका नेता गजेन्द्र साहले जानकारी दिनुभयो । वडाध्यक्ष महतोको निधनपछि बसबरिया गाउँपालिकाले बिहीबार (आज) एक दिन गाउँपालिकाभित्र शोक बिदा दिने निर्णय गरेको छ ।