• ११ पुस २०८१, बिहिबार

वनको क्षेत्रफल बढ्यो कृषिको घट्यो

blog

बुटवल समाचारदाता

बुटवल, पुस ११ गते । लुम्बिनी प्रदेशमा वनको क्षेत्रफल बढेर ५४.७ प्रतिशत पुगेको छ । प्रदेशको कुल क्षेत्रफल १९ लाख १९ हजार ४१७ हेक्टर रहेकोमा १० लाख ४९ हजार ४०८ हेक्टर भूभाग वनले ओगटेको पछिल्लो अध्ययनले देखाएको छ । 

सन् २००० मा प्रदेशको कुल क्षेत्रफलको ४८.६ प्रतिशत वन क्षेत्रफल रहेकोमा सन् २०१९ मा ५१.३ प्रतिशत हुँदै अहिले ५४.७ प्रतिशत पुगेको छ । वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले तयार गरेको राष्ट्रिय भूक्षेत्र अनुगमन प्रणाली प्रतिवेदनले लुम्बिनी प्रदेशमा वन क्षेत्रफल वृद्धि भएको देखाएको हो । प्रतिवेदनका अनुसार यही अवधिमा वन बुट्यान क्षेत्रको क्षेत्रफल भने २.९ प्रतिशतबाट घटेर २.३ प्रतिशतमा झरेको छ । 

पछिल्लो दुई दशकमा कृषि भूमि खुम्चिएर सात लाख ३३ हजार ८०१ हेक्टरबाट छ लाख १४ हजार ५२१ हेक्टरमा आएको छ । कृषि भूमि, जल क्षेत्र, चट्टानी भूभाग, घाँसे मैदान र बुट्यान क्षेत्र खुम्चिँदा वनको क्षेत्रफल भने बढेको हो ।  प्रतिवेदनले प्रदेशको कृषि भूमि अहिले मानवनिर्मित संरचनाले भरिँदै गएको र दुई दशकको छोटो अवधिमै प्रदेशको कुल भूभागको ०.१ प्रतिशतबाट चार प्रतिशत भूभाग मानवनिर्मित संरचनाले ढाकिएको देखाएको छ । 

छ दशकअघि भने लुम्बिनी प्रदेशको तराईको ७० प्रतिशत भूभागमा वन रहे पनि अहिले तराईमा महेन्द्र राजमार्गको छेउछाउमा मात्रै वन  सीमित भएको छ । वातावरणविद् युवराज कँडेलले पहाडबाट बसाइँ सरी तराई झर्ने, पहाडका खेत र बारी वनमा परिणत हुने तथा पछिल्लो समय काठदाउरा प्रयोग गरी खाना पकाउने प्रचलनमा भारी कमी आएकाले पनि वनको क्षेत्रफल वृद्धि भएको बताउनुभयो । उहाँका अनुसार अहिले प्रदेशको १३.८२ प्रतिशत वन मात्र तराई क्षेत्रमा छ । 

अहिले लुम्बिनी प्रदेशको सबैभन्दा धेरै वन चुरे र मध्य पहाडी क्षेत्रमा छ । वन मन्त्रालयको आर्थिक वर्ष २०७९/८० को प्रगति प्रतिवेदन अनुसार यी क्षेत्रमा प्रदेशको क्रमशः ४३.५८ प्रतिशत र ३३.१२ वन रहेको छ । वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले सार्वजनिक गरेको वन क्षेत्रको पछिल्लो नक्सा हेर्दा प्रदेशको ८० प्रतिशत वन चुरे र मध्य पहाडी क्षेत्रमै रहेको देखिएको छ । 

वातावरणविद् कँडेलले लुम्बिनी प्रदेशमा वनको क्षेत्रफल वृद्धि हुनुमा सामुदायिक वनको भूमिका र पहाडी क्षेत्रको बसाइँसराइलाई कारक तत्वका रूपमा रहेको बताउनुभयो । लुम्बिनीको चुरे र मध्यपहाडी क्षेत्रमा तीन हजार दुई सयभन्दा बढी सामुदायिक वन समूह छन् । यी समूहले वन संरक्षण गरेकाले पनि पहाडी क्षेत्रमा वन वृद्धि भएको कँडेलको भनाइ छ । पछिल्लो समयमा पहाडी क्षेत्रबाट तराई र अन्यत्र बसाइँ सरी जाने प्रवृत्ति उच्च रहेकाले वन उपयोग गर्ने जनसङ्ख्या पहाडी क्षेत्रमा निरन्तर ओरालो लागिरहेको देखिएको हो ।