• ११ पुस २०८१, बिहिबार

हिउँदे आगन्तुक लक्ष्मण सारस कर्णालीमा

blog

धनगढी समाचारदाता

धनगढी, पुस ११ गते । हिउँदे आगन्तुक लक्ष्मण सारस चरा कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा देखा परेका छन् । टीकापुर नगरपालिका–८ स्थित श्रीलङ्का टापुमा यो प्रजातिको सारस देखिएका हुन् । लक्ष्मण सारस उत्तरी ध्रुवबाट हिउँदमा कैलालीसम्म पुग्ने गर्छन् । उत्तरी ध्रुवमा हिमपात भएपछि अनुकूल मौसम, सुरक्षित वासस्थान र आहाराको खोजीमा लक्ष्मण र क¥याङकुरुङ सारस नेपाल हुँदै भारत, श्रीलङ्कासम्म पुग्ने गरेका जनाइएको छ । 

कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा विगत चार वर्षदेखि हिउँदमा लक्ष्मण सारस देखा परिरहेको चराविद् हिरूलाल डङ्गौराले जानकारी दिनुभयो । उहाँले यस वर्ष कर्णालीको तल्लो तटीय क्षेत्रमा आफूले तीन वटा लक्ष्मण सारस अभिलेख गरेको जानकारी दिनुभयो । अघिल्लो वर्ष भने यो चरा बढी सङ्ख्यामा देखिएका थिए । 

“कर्णालीको तल्लो तटीय क्षेत्रमा सायद अरूतिर पनि यो प्रजातिका चरा आएको होलान्,” उहाँले भन्नुभयो, “त्यता बाघको ओहोरदोहोर भएको देखिएकाले मैले सबैतिर हेर्न, खोज्न सकिनँ ।”

नेपालमा सारस (सारस क्रेन), कालो टाउके, लक्ष्मण र क¥याङकुरुङ गरी चार प्रजातिका सारस पाइने गरेका छन् । कालो टाउके सारस विश्वमै दुर्लभ मानिन्छ भने लक्ष्मण र क¥याङकुरुङ सारस हिउँदे आगन्तुक चरा हुन् । 

सारसलाई सिमसारको सूचक प्रजाति मानिन्छ । सारसको उपस्थितिले सिमसार क्षेत्र र पारिस्थितीय प्रणाली स्वस्थ रहेको बुझाउने गर्छ । यो प्रजातिको चराले सर्पको सङ्ख्या नियन्त्रण गर्नुका साथै कृषि बालीका लागि हानिकारक शङ्खे किरालगायतको अन्य प्रजातिका किरा खाएर अन्न उत्पादनमा सहयोग गर्ने गरेका जनाइएको छ । 

कर्णालीको तल्लो तटीय क्षेत्रमा यतिबेला लक्ष्मण सारससहित विभिन्न प्रजातिका हिउँदे आगन्तुक चराको चहलपहल रहेको छ ।