• ११ पुस २०८१, बिहिबार

ट्रक दुर्घटना हुँदा चालकसहित दुई घाइते

blog

दुर्घटनाग्रष्त ट्रक र क्षति भएको सामान । तस्बिरः राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, पुस १० गते । राप्ती राजमार्गअन्तर्गत रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका –६ गणेशमोड नजिक काप्रोपानीमा मालबाहक मिनी ट्रक दुर्घटना भएको छ । ट्रक दुर्घटनामा परेर दुई जना घाइते भएका छन् । 

दाङको तुल्सीपुरबाट रुकुमपश्चिमको मुसीकोट नगरपालिका –४ सोलाबाङतर्फ आउँदै गरेको लु २ ख ४१६४ नम्बरको ट्रक बुधबार बिहान काप्रोपानीमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले दुर्घटनामा परेर ट्रकचालक र सहचालक घाइते भएको जानकारी दिनुभयो । 

घाइते हुनेमा सल्यानको त्रिवेणी गाउँपालिका –६ लुहामका २८ वर्षीय चालक जनक केसी र रोल्पाको गङ्गादेव गाउँपालिका –३ का २६ वर्षीय सहचालक डिल्ली ओली रहेको प्रहरीले जनाएको छ । घाइते चालकको अवस्था गम्भीर रहेको छ । 

चालक केसीलाई त्रिवेणी गाउँपालिका अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ । चालकको टाउकोमा गम्भीर चोट लागेको छ । सहचालक ओलीको ढाड र खुट्टामा चोट लागेको छ । 

ओरालो सडकमा तीब्र गति रहेको ट्रकको इस्टेरिङ फेल हँुदा दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्रक सडकबाट करिब १५० मिटर तल खसेको छ । ट्रकमा चालक र सहचालक मात्र रहेका थिए । ट्रक दुर्घटना हुँदा लाखौ मूल्य बराबरको सामानमा क्षति पुगेको छ ।