• ११ पुस २०८१, बिहिबार

पूर्व स्वास्थ्य राज्यमन्त्री कार्की धनकुटामा

blog

भ्रमणकाक्रममा जिल्ला अस्पताल धनकुटा पुग्नुभएका पूर्व स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की ।

कोकिला भण्डारी

धनकुटा, पुस १० गते । सङ्घीय सासंद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्कीले बुधबार धनकुटा जिल्ला अस्पतालको अवलोकन भ्रमण गर्नुभएको छ ।

भ्रमणका क्रममा राज्यमन्त्री कार्कीले अस्पताल प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. अमिताभ ठाकुरसँग अस्पतालको वर्तमान अवस्थाबारे विस्तृत छलफल गर्नुभएको जिल्ला अस्पताल धनकुटाले जनाएको छ ।

सोही अवसर पारेर अस्पताल प्रमुख ठाकुरले राज्यमन्त्री कार्कीसँग अस्पतालमा भएको दरबन्दी, रक्त सञ्चार केन्द्र र स्वास्थ्य बीमाको हालको स्थितिबारे जानकारी गराएको डा. ठाकुरले जानकारी दिनुभयो।

मन्त्री कार्कीले स्वास्थ्य बीमा कार्यक्रमबाट कुनै पनि नागरिक वञ्चित हुन नपाउने गरी सेवा प्रवाह गर्न अस्पताल प्रशासनलाई सुझाव दिनुभयो । 

भ्रमणकै क्रममा मन्त्री कार्कीले अस्पतालमा उपचाररत बिरामीसँग भेटघाट गरी उहाँहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको अस्पतालले जनाएको छ ।