नेपालगन्ज समाचारदाता
नेपालगन्ज, पुस १० गते । भेरी अस्पताल नेपालगन्जमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिने भएको छ । सो सेवा सुरु गर्नका लागि सहिद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुर र भेरी अस्पताल नेपालगन्जबिच नेपालगन्जमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा सम्झौता भएको छ ।
सहिद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नीराजन सुवेदीबिच मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने सरकारको योजना रहेको जनाउँदै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पौडेलले सोही अनुसार भेरी अस्पतालमा पनि सुरु गर्न लागिएको बताउनुभयो । यो सेवा यहाँ सुरु गरिएपछि यस क्षेत्रका मिर्गौलाका बिरामी र अन्य बिरामीले पनि ठुलो राहत पाउने उहाँले बताउनुभयो ।
भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण र डायलासिस सेवा सञ्चालनका लागि धर्मभक्त प्रत्यारोपण केन्द्रले जनशक्तिदेखि प्राविधिक सहयोग गर्ने प्रत्यारोपण केन्द्रका निर्देशक डा. श्रेष्ठले बताउनुभयो । सकेसम्म एक महिनाभित्रै मिर्गौला प्रत्यारोपण सेवा भेरीबाट दिन सकिने उहाँले बताउनुभयो । निर्देशक श्रेष्ठले मिर्गौला प्रत्यारोपण सेवा विस्तारका लागि भेरी अस्पतालमा जनशक्ति रहेको र अभाव भएका जनशक्ति धर्मभक्त प्रत्यारोपण केन्द्रले काजमा व्यवस्थापन गरिसकेको जानकारी दिनुभयो ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नीराजन सुवेदीले भेरी अस्पतालमा विशिष्टीकृत सेवा विस्तार गर्दै लैजाने क्रममा मानव अङ्ग प्रत्यारोपण सेवा पनि विस्तार गर्न लागिएको बताउनुभयो । उहाँले अङ्ग प्रत्यारोपण र डायलासिस सेवा विस्तारका लागि आवश्यक पर्ने कानुनी जटिलता तथा सहजीकरणका लागि छिट्टै पहल गरिने पनि बताउनुभयो ।