हरेक बालकको पाठशाला आफ्नो घर हो । पहिलो शिक्षक आमा र बाबु हुन् । बालकको जीवनको आदर्श आमा बाबु हुन् । बालकले अनुसरण गर्ने भनेको नै घर परिवारका सदस्यले गर्ने व्यवहार, तिनले बोलेका कुरा आनीबानी आदि हुन् । घरका अग्रजले जे जस्तो व्यवहार गरेका हुन्छन्, त्यही व्यवहार बच्चाले सिक्ने हो । विद्यालय जानुअघिका सिक्ने कुरा घरबाटै हुन्छ । बिस्तारै विद्यालय जान थालेपछि केही नौलो अनुभूति गर्न थाल्छ । त्यहाँ उसको व्यवहार निर्माणको स्रोतका रूपमा साथीहरू र शिक्षकहरू थपिन पुग्छन् । बिस्तारै सिक्ने दायरा फराकिलो बन्दै जान्छ । त्यहाँ उसले आफूलाई मनपर्ने साथी रोज्न थाल्छ, आफूलाई राम्रोसँग पढाउन सिकाउने शिक्षकशिक्षिकाप्रति आकर्षित हुँदै जान्छ । अनि तीमध्येकालाई नमुनाको रूपमा लिन्छ र उनीहरूले भनेका कुरा उसका लागि अकाट्य बन्दै जान्छ ।
बालबालिकालाई आफ्नो घर र स्कुलका साथै छिमेकी, वरपरको वातावरण, विभिन्न मिडिया र आफूले पढ्ने शैक्षिक सामग्री आदिको अध्ययन गर्दै जाँदा उसले सिक्ने र नक्कल गर्ने बानी पनि बढ्दै जाने हुन्छ । बालबालिकाले आफ्नो परिवेशमा देखेका राम्रा नराम्रा जे जति पनि विषयवस्तु छन् तिनलाई उनीहरूले आफ्नो व्यवहारमा उतार्ने प्रयत्न गर्छ । यो अवस्थासम्म पनि ती बालबालिका के ठिक र के बेठिक राम्रोसँग छुट्याउन सक्ने क्षमता विकास भइसकेको हुँदैन । यो अवस्थामा तिनलाई उचित सल्लाह र परामर्शको खाँचो पर्छ । तिनलाई समयमै राम्रो मार्ग दर्शन दिन सकिएन भने तिनको व्यवहारमा नकारात्मक सोचको विकास पनि हुन सक्छ ।
शिक्षालाई चेतनाको माध्यम मानेर पढाएर वा घोकाएर मात्र नैतिकवान् वा चरित्रवान् बनाउन सकिँदैन । यदि घरपरिवार, विद्यालय र समाज नैतिकवान् भए भने बालक पनि चरित्रवान् र नैतिकवान् बन्न सक्छ । हरेक बालकले आफ्ना अग्रज र नजिकका आफन्तबाट राम्रा र नराम्रा कुरा सिक्ने हुन् । हुन त शिक्षा प्रणालीले ज्ञान र प्राविधिक सिप हासिल गर्ने कुरामा जोड दिन्छ । परिणामतः बालबालिकाले आफ्नो जीवनका उर्वर समय यसैका लागि बिताउँछ । त्यसतर्फ मात्र बालबालिकाले आफू समर्थ हुँदै जाँदा भोग्नुपर्ने दुनियाँमा प्रवेश गर्छन् र त्यहाँ आफ्नो प्रविधि र विचार भएका अनेक व्यक्तिसँग प्रतिस्पर्धा गर्दै अगाडि बढ्दै जानुपर्ने हुन्छ । समयमा सिक्नुपर्ने कुरा सिकाएका छैनन् भने भविष्य निराशाजनक बन्न पुग्छ ।
शिक्षाकै कारण हरेक बालबालिकाले आफ्नो विवेक प्रयोग गरी सिप सिक्ने र सृजनशीलतातर्फ उन्मुख हुने हुन्छन् । अनि तिनका कार्य र कारणमा आधारित भई दैनिक जीवनका व्यावहारिक र सैद्धान्तिक क्रियाकलापलाई विश्लेषण गर्न सक्ने क्षमता विकास हुन्छ । बिनासिकाइ भने केही गर्न सक्दैनन् । यदि बालबालिकामा सिक्ने इच्छा शक्ति नै छैन भने कसरी सिक्छ्न ? सिकाइबिनाको शिक्षा कुनै अर्थ हुँदैन । विद्यालयमा पठनपाठन गरिने विषयवस्तु सिक्न बालबालिका इच्छुक हुनु प¥यो । अर्कातर्फ शिक्षकमा बालबालिकाको मनोसामाजिक रुचि अनुसार सिकाउने नयाँ नयाँ प्रविधि र विधिको प्रयोग गर्न सक्ने क्षमता हुनु प¥यो अनि मात्र बालबालिकाको रुचि र आवश्यकता अनुसारको सिकाइ हुन सक्छ ।
आजको समाज अत्यन्त जटिल बन्दै गएको छ । यहाँ प्रतिसेकेन्ड ज्ञानको विस्फोट भइरहेको छ । यस्तो परिस्थितिमा सिकाइको तौरतरिका हिजोको जस्तो हुनुभएन । हरेक विषयमा सोचाइ, गराइ, बुझाइको तरिका फरक हुँदै आएको छ । प्राचीन ग्रिक सभ्यताका शिक्षक र दार्शनिकले वाक् कलालाई सम्पत्ति जुटाउने कलाका रूपमा लिएका थिए भने अहिले वक्तृत्व कला भन्ने चलन छ । सन् १७०० सम्म पनि यो कला शिक्षा पद्धतिको ठुलो आधार मानिन्थ्यो । पश्चिम युरोपभर १२ वर्ष उमेरदेखि विद्यार्थीलाई तर्कशास्त्र सामाजिक व्यवहार, आलोचनात्मक चिन्तन र वाक्कला जस्ता जीवनोपयोगी सिपहरू १४ तहको पाठ्यक्रममार्फत सिकाइन्थ्यो । त्यतिबेला पनि परी कथा र लघुकथाको सस्वर वाचन र त्यसपछिको छलफलबाट पढाइको अभ्यास सुरु हुन्थ्यो । कुनै विषयवस्तुको पक्ष विपक्षमा सामान्य विचार प्रकट गराइन्थ्यो । कुनै विषयमा लामो बहसहरू पनि सिकाइन्थ्यो ।
आधुनिक शिक्षा प्रणालीको आधार भने १७ र १८ औँ शताब्दीको औद्योगिक क्रान्तिपछिको हो । यस शिक्षा प्रणालीले ज्ञान र प्रविधि सिप हासिल गर्नुलाई बढी महत्व दिँदै आयो । करिब दुई हजार वर्षदेखिको वाक् कलाको प्रचलन नै हामीलाई कुराकानी गर्न तर्क गर्न झगडा गर्न र सहमतिमा पुग्न सिकाएको कुरा जोन बोबीले बताएका छन् । नेपालको सन्दर्भमा भन्नु पर्दा हाम्रो विद्यालय शिक्षा प्रश्नको घेरा भित्र छ । विसं १९१० मा दरबार स्कुलको स्थापनासँगै औपचारिक शिक्षा सुरुवात जहानियाँ राणाशासनकालमा जङ्गबहादुरबाट सुरुवात भएको थियो । त्यहाँ केवल राणा परिवारका सन्तान र भारदारका बालबालिकाले पढ्न पाउने व्यवस्था थियो । सर्वसाधारण त्यहाँ पढ्न पाउँदैन थिए । २००७ सालको क्रान्तिपछि शिक्षाको लहर बढ्दै आयो । देशका कुनाकाप्चासम्म विद्यालय क्रमशः खुल्दै आए । २०१५ सालपछि बिपी कोइराला नेतृत्वको सरकारले शिक्षा विस्तारमा तिब्र गति दियो ।
तत्कालीन राजा महेन्द्रले प्रजातान्त्रिक सरकारलाई विघटन गरेपछि २०२८ सालमा राष्ट्रिय शिक्षा पद्धतिको योजना लागु भयो । यसबिचमा पनि शिक्षा सुधारका नाममा अनेक आयोग र समितिमार्फत सुझाव लिने क्रमले निरन्तरता पाइरह्यो । २०४६ सालको जनआन्दोलनपछि प्रजातान्त्रिक सरकारको स्थापना भयो । यो सरकारले पनि शिक्षा सुधारका लागि राष्ट्रिय शिक्षा सुझाव आयोग गठन गरी शिक्षामा सुधारका फड्को मार्दै आयो । यसैबिच माओवादी हिंसात्मक विद्रोहले विकासमा प्रतिकूल प्रभाव पार्दै आयो । उक्त विद्रोह २०६३ सालमा अन्त्य भई शान्ति मार्ग अवलम्बनपछि शैक्षिक सुधारका लागि अनेकन सुझाव आयोग गठन भए । तदनुरूपका प्रतिवेदन, ऐन, नीति बने तथा त्यहाँ सुधार र संशोधनका काम पनि भए तर शिक्षामा व्यावहारिक सुधार भने हुन सकेन । अझै थुप्रै गुनासा र असन्तुष्टि चुलिँदै छन् । सङ्घीयता अनुकूलको शिक्षा ऐन अझै बन्न सकेनन् ।
शिक्षा क्षेत्रमा सिर्जित समस्या र विसङ्गतिलाई समाधान गरेर शिक्षण पेसालाई आकर्षक र मर्यादित बनाउन सकिरहेको छैन । शिक्षकहरू पनि आफूसँग भएको ज्ञान, सिप र अनुभवलाई विद्यार्थीमाझ बाँड्न नसकेका गुनासा आइरहेका छन् । आफूले पढाएका हरेक विद्यार्थी राष्ट्रका असल नागरिक होऊन् भन्ने धारणा शिक्षकमा हुनु जरुरी छ । शिक्षकले आफ्नो पेसाको गर्व गर्न जान्नु पर्छ । उसले जीवनमा पठन पाठनबाहेक अरू कामको अल्झोमा अलझिनु हुँदैन । अहिले कतिपयले एउटा पेसामा लाग्ने अर्को क्षेत्रमा दौडने र आफ्नो पेसाको मर्यादा नराख्ने खालका पनि छन् । शिक्षकले विद्यालयमा विद्यार्थीलाई पढाउने, गृहकार्य गराउने, गृहकार्य परीक्षण गर्ने, भविष्यको बाटो देखाउने आदि काममा आफूलाई व्यस्त गराउने हुनु पर्छ । पाठ्य पुस्तकमा मात्र सीमित नरही नयाँ नयाँ विषयको जानकारीका लागि नयाँ नयाँ पुस्तक खोजी गरी पढ्ने बानी बसाल्नु जरुरी छ । विषय अनुसारका सिर्जनशीलता विकास गराइनु पर्छ । कक्षा कोठामा विद्यार्थीले नबुझेका कुरा बुझाउने दायित्व शिक्षकको नै हुन्छ । कक्षाकोठामा देखा परेका समस्या सुल्झाउने काम विद्यार्थीलाई सम्झाइबुझाइ सही बाटोमा ल्याई कक्षा कोठालाई स्वस्थ र रमाइलो बनाउनु पर्छ ।
हुन त हाम्रा विद्यालयले विद्यार्थीलाई सिकाउने नयाँ सोच विचार दिई तिनलाई समुचित वातावरण दिनुभन्दा नियन्त्रण र औपचारिकतामा ढाल्ने काममा मात्र बल गरेका देखिन्छ । राम्रो भनी नाम कमाएका विद्यालयसमेत अनुशासित र नियन्त्रित वातावरण राखी अङ्ग्रेजी भाषामा थोर बहुत बोल्न सिकाएर अभिभावकबाट रकम असुल्न खप्पिस देखिँदै आएका छन् । अर्कातर्फ अभिभावक पनि आफ्ना बालबालिका अनुशासित र अङ्ग्रेजी सिकाउने विद्यालयका नाममा जति पनि शुल्क तिर्न तयार छन । यस्ता कतिपय निजी विद्यालयले मजाले अभिभावकबाट थुप्रै शुल्क असुल्न पछाडि परिरहेका छैनन् ।