• १० पुस २०८१, बुधबार

लुङरुपामा आयुर्वेद भवन

blog

फिदिम नगरपालिका १३ मा निर्मित आयुर्वेद औषधालयको नयाँ भवन । तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, पुस ९ गते । फिदिम नगरपालिका १३ मा निर्माण भएको लुङरुपामा आयुर्वेद औषधालय उद्घाटन गरिएको छ । सङ्घीय सरकारको बजेटमा निर्मित भवन फिदिम नगरपालिका मातहत रहने बताइएको छ ।

भवन निर्माण सघन सहरी भवन कार्यालय झापाले निर्माण गरेको हो । दुई करोड ३० लाख ७० हजार रुपियाँ लागतमा निर्मित भवनको उद्घाटन फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्ले र उप मेयर राधाकृष्ण न्यौपानेले गर्नुभयो ।

भवनबाट फिदिम नगरपालिका १३ र १४ का विरामीले आयुर्वेदिक पद्धतिको उपचार सेवा पाउने नगर प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिनुभयो  । भवनमा बिरामीको स्वास्थ्य परीक्षणका लागि इमरजेन्सी,ओपिडी,पञ्चकर्म,सर्वाङ्ग स्वेदन र कार्यालय प्रमुखका कार्य कक्षसँगै आवाससहितका १४ कोठा छन्।

आर्थिक वर्ष २०७९-०८०मा ठेक्का सम्झौता भएर निर्माण गर्न थालिएको भवन हालै निर्माण कार्य सम्पन्न भएको हो । फिदिम नगरपालिका १३ र १४ नम्बर वडा दुर्गम क्षेत्रमा पर्छन् । यहाँका नागरिक बिरामी हुँदा सदरमुकाम आउन सवारी साधन अभाव हुने गर्छ । दुवै वडाका नागरिकको स्वास्थ्य उपचारमा सहजता ल्याउन नगरपालिकाको स्वास्थ्य चौकी लुङरुपाका नाममा एम्बुलेन्स खरिद गरेको छ ।