नवलपुर समाचारदाता
नवलपुर, पुस ९ गते । निर्धारित समयमा काम हुन नसक्दा सरकारले ठेकेदार कम्पनीसँग भएको ठेक्का सम्झौता तोड्ने चेतावनी दिएपछि नारायणगढ–बुटवल सडक विस्तारले थोरै आशा देखाएको छ । ठेक्का तोड्नेसम्मको चेतावनी पछि ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले सरकारले दिएको पहिलो लक्ष्य अनुसार काम सुरु गरेको नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताउनुभयो । सरकारले चाइना स्टेटलाई आगामी मङ्सिर २५ गतेभित्र सडकको एकतर्फी ७० प्रतिशत कालोपत्रे गरिसक्नुपर्ने र दोस्रो सर्तमा मार्च मसान्त अर्थात् २०८२ को चैत १७ गतेभित्र नारायणगढदेखि बुटवलसम्म एकतर्फी सबै कालोपत्रे भएको हुनुपर्ने भनेको छ ।
चाइना स्टेट कम्पनीले पहिलो सर्त अनुसार आगामी मङ्सिर २५ गतेभित्र नारायणगढ–बुटवल सडकखण्डको कम्तीमा ७० प्रतिशत एकतर्फी काम सक्ने प्रतिबद्धता जनाएको प्रजिअ पोख्रेलले जानकारी दिनुभयो । सोही अनुसार गत चैत महिनादेखि रोकिएको नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम सुरु भएको छ । मङ्सिरको तेस्रो सातादेखि काम सुरु गरिएको भए पनि सोचे अनुसारको प्रगति नदेखिएको सडक आयोजना पूर्वी खण्डका प्रमुख अनुजा घिमिरेले बताउनुभयो ।
घिमिरेले भन्नुभयो, “काम सुरु गरेको छ, कामदार पनि बढाएको छ तर गति अझै नबढाएकाले गति बढाओस् भन्ने हाम्रो चाहना हो । हिउँद भनेको काम गर्ने उपयुक्त मौसम भएकाले कामदार र औजार थप्नेमा ठेकेदार पनि सकारात्मक देखिएका छन् ।”
ठेकेदारले दैनिक तीन सय कामदार परिचालन गरेको दाबी गरेको भए पनि दुई सयको हाराहारीमा कामदार खटिएको घिमिरेले बताउनुभयो । औजार र जनशक्ति बढाएर तीव्र गतिमा काम गरे पहिलो लक्ष्य पूरा गर्न कुनै समस्या नभएको आयोजनाको भनाइ छ । नवलपुरका प्रमुख जिल्ला अधिकारी पोख्रेलले थपिएको अवधिमा कम्तीमा एकतर्फी सडक विस्तारको काम भए ठुलो प्रगति हुने बताउनुभयो । अहिलेसम्मको काम गराइ हेर्दा ठेकेदारबाट बढी अपेक्षा गर्न नसकिने उहाँको भनाइ छ ।
प्रजिअ पोख्रेलले भन्नुभयो, “जति सक्रिय भएर लाग्नुपर्ने हो त्यो त देखिँदैन तर कामको सुरुवात गरेको छ । उनीहरूको काम गर्ने शैली र शक्ति हेर्दा तेस्रो पटक म्याद थपिएको साउन ८ गतेभित्र कम्तीमा एकतर्फी सक्छ कि जस्तो देखिन्छ ।” चिनियाँ ठेकेदारले छलफलका क्रममा मध्य जनवरीदेखि कामले अलि गति लिने बताएको पोख्रेलले बताउनुभयो । अहिलेसम्म कामले गति नलिए पनि पुसको अन्त्यदेखि सडक विस्तारको काम तीव्र गतिमा हुने प्रतिबद्धता जनाएका कारण यस पटक एकतर्फी बाटो सकिने सम्भावना रहेको बताउनुभयो ।
१५ दिन पाँच घण्टा बाटो बन्द
दाउन्ने क्षेत्रमा कम्तीमा १५ दिन पाँच घण्टाका दरले बाटो खाली हुने अवस्था भएमा दाउन्ने पश्चिमको खण्ड एकतर्फी सक्ने ठेकेदारले बताएका छन् । प्रजिअ पोख्रेलले जिल्ला प्रशासन कार्यालय नवलपरासीसँग पनि समन्वय गरेर बढी ट्राफिक जाम नहुने समय पारी बाटो बन्द गरेर विस्तार गर्न लगाइने बताउनुभयो ।
आयोजनाको पूर्वी खण्डका प्रमुख घिमिरेले पनि कहिलेदेखि कतिबेला बाटो बन्द गर्ने भन्ने विषयमा दुवै जिल्लाका प्रतिनिधि बसेर निर्णय गरिने बताउनुभयो । चिनियाँ पक्षले पहिले नगद प्रवाहमा समस्या भएको बताउने गरे पनि अहिले त्यो समस्या छैन । यसले गर्दा पनि पहिलो लक्ष्य पूरा हुने सम्भावना बढेको छ ।
तोकिएको समयमा काम नसकिएपछि दोस्रो पटक २०८१ साउन ८ गतेसम्मका लागि म्याद थपिएको थियो । यस अवधिमा पनि काम पूरा नभएपछि गत साउनमा तेस्रो पटक २०८२ साउन ८ गतेसम्मका लागि म्याद थप गरिएको छ । एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा ठेक्का भएको हो । यसको दुवै खण्ड गरेर ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपियाँ छ ।