भैरहवा समाचारदाता
भैरहवा, पुस ९ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका नगरप्रमुखको पारिश्रमिकबाट सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । यहाँका ४२ विद्यालयका १४६ विद्यार्थीले छात्रवृत्ति पाएका हुन् । उनीहरूले छात्रवृत्ति अन्तर्गत नगरप्रमुख रामकृष्ण खाणले वर्षभरि पाउने तलब र अन्य पारिश्रमिक रकम सात लाख ३० हजारबाट जनही पाँच हजारका दरले रकम पाएका हुन् । उक्त छात्रवृत्ति नगरभित्रका ४२ वटा सामुदायिक विद्यालयमा अध्ययनरत जेहेनदार तथा विपन्न विद्यार्थीलाई प्रदान गरिएको हो ।
नगरप्रमुख खाणले आफू निर्वाचित भएको वर्षदेखि नै आफूले पाउने पारिश्रमिकबापतको रकम छात्रवृत्ति वितरण गर्दै आएको बताउनुभयो । उहाँले यो रकमले पढ्न इच्छा भएर पनि बिचमै पढाइ रोक्नुपर्ने बाध्यता आउन सक्ने विद्यार्थीले भविष्य बनाउन पाउने भएकाले यो अवसर प्रदान गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “म धनी भएकाले पैसा बाँडे भनेर प्रचार गर्न दिएको होइन । कुनै पनि बालबालिकाले पढ्ने अधिकारबाट वञ्चित हुनु हुँदैन भन्ने मान्यता आत्मसात् गर्दै आफ्नो पारिश्रमिक बाँडेको हुँ ।”