बिजुवार समाचारदाता
बिजुवार, पुस ९ गते । प्युठानका विभिन्न स्थानमा रहेका तामाखानी जङ्गलमै पुरिएर खेर गइरहेका छन् । तत्कालीन समयमा छिना, गल, घन र कोदालोको प्रयोग गरेर पुर्खाले उत्खनन गरेको गौमुखी गाउँपालिकाको पूजा, रजवारा र अर्खामा रहेको तामाखानी उपभोग र संरक्षणको अभावमा पुरिन थालेका हुन् । खानी उत्खननका क्रममा प्रयोग गरिएका सामग्री, पुराना काठका साथै खानीलाई बलियो बनाउन पुराना ढुङ्गासमेत खानीभित्र रहेका छन् । यहाँ तामा निकाल्ने क्रममा खनिएको सुरुङ, काठका थाम र पुराना ढुङ्गासमेत अझै भेटिन्छ ।
तर खानीबाट धातु निकाल्ने धाउ (सुरुङ) पुरिएका छन् । गौमुखी वाग्लीबाङका स्थानीय हरि सुनारले जङ्गलैभरि प्रशस्त तामाखानी भए पनि प्रयोगमा नआउँदा पुरिन थालेको बताउनुभयो । २०५३ सालमा खानी तथा भूगर्भ विभागको टोलीले खानी स्थलमा पुगेर तामा भएको पुष्टि गरेको थियो ।
उहाले भन्नुभयो, “जङ्गलभरि तामाखानी छ, सरकारले उत्खनन गरेको छैन ।” उहाँले खानी उत्खनन भए गाउँको मुहार फेरिने बताउनुभयो । उहाँले तामाखानीको अध्ययन अवलोकन गर्ने भनेर बेलाबेलामा चिनियाँ टोली आउने गरेको समेत सुनाउनुभयो । उहाँका बाजे बराजुले गाउँकै स्रोत साधनले खनेर तामा निकालेका थिए । त्यसबाट बनेका गाग्री, ताउला जस्ता घरायसी भाँडाकुँडा अझै गाउँमा सुरक्षित रहेका छन् ।
तामा निकाल्ने क्रममा खानीभित्र एकै पटक २२ जनाको पुरिएर ज्यान गएपछि खानी बन्द गरिएको यहाँका बुढापाकाले सुनाउने गरेको सुनारले उल्लेख गर्नुभयो । तामाको प्रशस्त सम्भावना भएर पनि उत्खनन हुन नसकेको गौमुखी गाउँपालिका उपाध्यक्ष महावीर रानाले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो पालिकाभित्र प्रशस्त तामाखानी छन्, स्थानीय तहलाई खानी सञ्चालनको अधिकार दिएको छैन ।” सरकारले तामाखानी सञ्चालनमा ल्याएमा रोजगारीको सिर्जना र स्थानीयस्तरमै आयआर्जनको अवसर प्राप्त हुने उपाध्यक्ष रानाले बताउनुभयो ।
गौमुखी क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन वाग्लिबाङवासीले होमस्टेसमेत चलाएका छन् । नेपाल पर्यटन बोर्डको सहयोगमा ४५ किलोमिटर लामो पदमार्गसमेत निर्माण गरिएको छ । स्थानीय सरकारले समेत बजेट व्यवस्था गरेर पर्यटन विकासको पहल लिएको छ । तामाखानी क्षेत्रमा पुग्ने गोरेटो बाटो, रेलिङ निर्माण भएको छ । योसँगै तामाखानी र ढुङ्गाखानीको पनि उत्खनन भइदिए गौमुखीको विकासमा टेवा पुग्ने स्थानीयको आशा छ ।