• ८ पुस २०८१, सोमबार

गोरखा क्याम्पस–मान्देढुङ्गा–छेपेटार सडक कालोपत्रे सुरु

blog

गोरखा क्याम्पस–मान्द्रेढुङ्गा–छेपेटार सडकअन्तर्गत गोरखा क्याम्पसदेखि मान्द्रेढुङ्गासम्म झण्डै दुई किलोमिरटर सडक कालोपत्रे सुरु । तस्बिर : गुणबहादुर रोका

गुणबहादुर रोका
सुलीकोट, पुस ८ गते ।
गोरखा सदरमुकामबाट पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र अजिरकोट गाउँपालिका पुग्न सबैभन्दा छोटो दूरीमा रहेको गोरखा क्याम्पस–मान्द्रेढुङ्गा–छेपेटार सडकअन्तर्गत गोरखा क्याम्पसदेखि मान्द्रेढुङ्गासम्म झण्डै दुई किलोमिरटरको दूरीमा पर्ने सडक कालोपत्रे सुरु भएको छ । निकै लामो प्रयासपछि गोरखा सदरमुकामबाट दुई किलोमिटर सडक बाटो कालो पत्रे सुरु गरिएको गोरखा योजना कार्यालय गोरखाका साइड इन्जिनियर शिव सुवेदीले जानकारी दिनुभयो । 

विशेष गरी गोरखा नगरपालिकाका प्रमुखसहित जनप्रतिनिधिको लामो समयको प्रयासपछि अहिले आएर यस सडक कालोपत्रे सुरु गरिएको गोरखा नगरपालिका–७ का वडाअध्यक्ष विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो । सडक विभागको बजेटअन्तर्गत सडक योजना कार्यालय गोरखामार्फत कालोपत्रे सुरु गरिएको हो ।

सडक कालोपत्रे योजनाका लागि डाइमण्ड इन्फा इन्जिनियरिङ प्रालि गोरखासँग २०८१ मङ्सिर १२ गते सम्झौता भएर काम अघि बढेको गोरखा सडक योजना कार्यालय गोरखाका प्रमुख अमिन्द्र खड्काले जानकारी दिनुभयो । २०८२ साल असार ३० गते सम्पन्न गर्नुपर्ने कालोपत्रे सडकको काम समय सिमा भित्र सम्पन्न हुने उहाँको भनाइ छ ।

गोरखा सदरमुकामबाट गोरखा क्याम्पस, मान्द्रेढुङ्गा हुँदै छेपेटारसम्म ऐतिहासिक महत्त्व राख्ने भएकाले यस सडकलाई कालो पत्रे गर्न गोरखा नगरपालिकाले विशेष महत्त्वका साथ योजना माग गरी बजेट पारिएको गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस सडकले नजिकै रहेको पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र अजिरकोट गाउँपालिका पुग्न सबैभन्दा छोटो सडक भएकाले पनि सदरमुकाम र ३ वटा पालिका र जोड्ने कडीको रुपमा यस कालोपत्रे सडकले महत्त्व राख्ने विश्वास व्यक्त गर्नुभयो । यस सडकले गोरखा नगरपालिका र अन्य ३ वटा पालिकासम्म सहजै व्यापार व्यवसाय हुने विश्वास लिइएको छ ।

उक्त सडक कालोपत्रले भएपछि कम्तीमा दुई घण्टा लाग्ने बाटो एक घण्टामै गोरखा सदरमुकाम पुगिने भएको सिरानचोक गाउँपालिका युवगा धनबहादुर तामाङले बताउनुभयो । 

गोरखा सडक योजना गोरखाको एक करोड रुपियाँमा गोरखा सडक गोरखा योजना कार्यालय गोरखा र निर्माण कम्पनीबिच झण्डै दुई किलोमिटर सडक कालो पत्रे र एक साइडमा नाली बनाउनुपर्ने सम्झौतामा उल्लेख छ । ५.५ मिटर चौडाई र २ किलोमिटर लम्बाइ, सब बेस, सबग्रेड फाइनल भई सम्पन्न हुन लागेको गोरखा योजना कार्यालय गोरखाले जनाएको छ ।