काठमाडौँ, पुस ८ गते । परराष्ट्र मन्त्री डा आरजु राणा देउवा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराएर आज स्वदेश फर्कनुहुने भएको छ ।
उहाँ बाइल्याटरल टोटल हिप रिप्लेस्मेन्ट (टिएचआर) को ‘फलो अप’ स्वास्थ्य परीक्षणका लागि गत शुक्रवार भारतको नयाँ दिल्ली पुग्नुभएको थियो । युरोपबाटै त्यहाँ पुग्नुभएका उहाँले शनिवार र आइतबार एपोलो अस्पतालमा स्वास्थ्य परीक्षण गराउनुभएको थियो । उहाँ आज साँझ स्वदेश फर्कँदै हुनुहुन्छ ।
स्वास्थ्य परीक्षणका लागि नै उहाँ नयाँ दिल्ली जानुभएकाले यस पटक कुनै औपचारिक भेटघाटको कार्यक्रम थिएन । शुक्रवार भने उहाँले भारतको नयाँ दिल्लीमा आयोजित भारत नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स) लाई सम्बोधन गर्नुभएको थियो । सो सम्बोधनमा उहाँले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुटका लागि अनुरोध गरेको बताउनुभएको थियो ।
मन्त्री डा. राणाले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा सञ्चालनका लागि भारतसँग पनि सहयोगको अपेक्षा गरिएको भन्दै भारतीय एयरलाइन्स अपरेटरहरूसँग थप उडानका लागि आग्रह पनि गर्नुभएको थियो । उहाँले नेपाल भारत आर्थिक सम्बन्धको विस्तृत चर्चा गर्दै नेपालमा लगानीका लागि भारतीय लगानीकर्ताहरूलाई आग्रह पनि गर्नुभएको थियो ।
यसअघि मन्त्री डा. राणा गत मङ्सिर २२ मा युरोपतर्फ लाग्नुभएको थियो । उहाँको यो भ्रमणको मुख्य उद्देश्य नेदरल्याण्डको हेगमा अवस्थित अन्तर्राष्ट्रिय अदालतमा नेपालका तर्फबाट जलवायु न्याय माग गर्नु रहेको थियो ।
मन्त्री डा. राणाले जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र पाउनुपर्ने क्षतिपूर्तिबारे नेपालका तर्फबाट मङ्सिर २४ मा सो अदालतमा कुरा उठाउनुभएको थियो ।
अन्तर्राष्ट्रिय अदालतमा नेपालले पहिलो पटक जलवायु परिवर्तनको वर्तमान अवस्था र यसका कारण नेपालमा परेको असरका बारेमा आफ्नो अवस्था दर्साउँदै जलवायु न्याय (कम्लाइमेट जस्टिस्) को माग गरेको हो ।
विश्वका धनी तथा विकसित मुलुकहरुले कार्बन उत्सर्जन गर्दा नेपालजस्ता मुलुकलाई परेको असरका साथै यसका कारण नेपालले पाउनुपर्ने क्षतिपूर्तिका विषयमा केन्द्रित रही मन्त्री डा. देउवाले उक्त अदालतको पूर्ण इजलाशसामु नेपालको धारणा राख्नुभएको हो ।
त्यसपछि मन्त्री डा. राणाले लक्जेम्बर्गका उपप्रधानमन्त्री, विदेश एवं वैदेशिक व्यापार मन्त्री जेभियर बेटेल र बेल्जियमका विदेश मन्त्री बर्नार्ड क्विन्टिनसँग छुट्टाछुट्टै भेटवार्ता गरी द्विपक्षीय हित र आपसी चासोका बारेमा कुराकानी गर्नुभएको थियो ।
यरोप भ्रमणकै क्रममा उहाँले युरोपियन युनियनका कमिसनर फर कम्लाइमेट एक्सन ओपके होस्त्रा र कमिसनर फर इन्टरनेशनल पार्टनरसिप जोजेफ सिकेलासँग बेल्जियमको ब्रसेल्समा भेटवार्ता गर्नुभएको थियो ।
छुट्टाछुट्टै भएका ती भेटमा उहाँले नेपाल र युरोपियन युनियनबीचको सम्बन्ध, जलवायु परिवर्तनका कारण नेपालमा परेको असर र नेपालले पाउनुपर्ने जलवायु न्यायका बारेमा कुरा राख्नुभएको थियो ।
साथै उहाँले युरोपेली आकाशमा नेपाली वायु सेवालाई लगाइएको प्रतिबन्ध (सेप्टी लिस्ट) सम्बन्धी प्रावधान हटाउने विषयमा पहल गर्न पनि उहाँहरूलाई आग्रह गर्नुभएको थियो ।
मन्त्री डा. राणाले जर्मनीको पोट्सडाममा अवस्थित जलवायुसम्बन्धी अनुसन्धान संस्थामा पुगेर त्यहाँका वैज्ञानिक एवं अनुसन्धानदाताहरूसँग अन्तरक्रिया गरी जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्र र समुदायमा परेको असरबारे अनुसन्धान गर्न आग्रह पनि गर्नुभएको थियो ।
त्यसै गरी यही पुस २ गते परराष्ट्र मन्त्री डा. राणाले जर्मनीको बर्लिनमा आयोजित समान अधिकारसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समूह (एलजिबिटी) व्यक्तिहरूको समावेशीकरण र मानवअधिकारका पक्षमा नेपालले धेरै उपलब्धि हासिल गरेको बताउनुभएको थियो ।
उहाँले अल्पसङ्ख्यकहरूको अधिकारका क्षेत्रमा प्रगतिशील कानुनहरूको व्यवस्था गर्दै नेपाल विश्वमा नै अग्रणी देश बनेको पनि अन्तर्राष्ट्रिय समुदायसामु बताउनुभएको थियो ।