बिष्णुप्रसाद पोखरेल
दमक, पुस ७ गते । झापाको उत्तरी वन क्षेत्रमा रहेका हात्तीहरु बस्तिमा पस्न थालेपछि हात्तीको बाटो छेक्न डढेलो लगाउने गरेको पाइएको छ । हात्तीलाई आगोको घेराबन्दिमा पारेर उसको आवगमन छेक्ने प्रयास हुने गरिएको हो ।
यसले वन क्षेत्रका बोटविरुवा जल्नुको साथै चराचुरुङ्गी र जंगलमा आश्रित वन्यजन्तुमा समेत असर पर्ने गरेको बताइन्छ । हात्ती धपाउनका लागि परम्परागत उपाय अगुल्टो बोक्ने, झ्याम्टा बजाउने, थाल थट्टाउने र पछिल्लो समयमा सवारी साधनको हरन बजाउने कार्य हुँदै आएको छ ।
कमल गाँउपालिकाको सितापुरी आसपासको क्षेत्रमा देखिएका हात्तीलाई बस्तिमा पस्नबाट रोक्न स्थानीयले रतुवामाई बृक्षारोपण क्षेत्रमा डढेलो लगाइदिएका छन् । हात्ती दिनहुँजसो आउन थालेपछि सुरक्षित हुनका लागि डढेलो लगाएको भएपनि हात्ती आउन नछाडेको स्थानीयहरुले बताएका छन् ।
झापामा हात्ती धपाउनका लागि प्रायजसो ठाँउमा अहिले पनि आगोको मुश्लोको साहरा लिने गरिएकाले यसले जंगलमा डढेलोको खतरा सधै रहेको छ । हात्ती धपाउन डढेलो लगाउदा यसले अन्य धेरै जिवजन्तु र पर्यावरणमा समेत असर पर्ने भएकाले यस्तो कार्य रोकिनु पर्ने पनि जनाइएको छ ।
कमल गाँउपालिकाका अध्यक्ष हुकुमसिंह राईका अनुसार हात्ती प्रभावित क्षेत्रमा हात्तीको आवतजावत देखियोस र जोखिमबाट बच्न सहजहोस भनेर सडकमा बिजुली बत्तीको व्यवस्थापन गरिएको छ । जंगलमा डढेलो लगाउने र आगोको मुश्लो बोकेर धपाउने कार्य नगर्न उहाँले आग्रह गर्नु भएको छ ।
झापामा रतुवामाई वृक्षरोपण आयोजना, हम्सेदुम्से सामुदायिक वन लगायतका क्षेत्रहरुमा नियमित रुपमा हात्ती देखिदै आएका छन् । दिनभर जंगलमा रहने हात्तीहरु साँझ तथा बेलुका बस्तिमा छिर्न थालेपछि हात्ती प्रभावित क्षेत्रका बासिन्दाहरु आगोको मुश्लो लिएर हात्ती धपाउन निस्कने गर्छन् ।