• ७ पुस २०८१, आइतबार

प्रदेशलाई लुम्बिनी सर्किटमा जोड्ने प्रतिबद्धता

blog

मुख्यमन्त्री चेतनारायण आचार्य ।

बुटवल समाचारदाता

बुटवल, पुस ७ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन क्षेत्रको विकासका लागि बुद्ध सर्किट र लुम्बिनी सर्किटको विकास गरिने बताउनुभएको छ । रुपन्देहीको देवदहमा गौतम बुद्ध राष्ट्रिय उद्यान पार्क महोत्सवको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीलाई बौद्ध सर्किटमा जोड्ने र सिङ्गो प्रदेशका १२ जिल्लालाई लुम्बिनी सर्किटमा जोड्ने गरी सरकारले अवधारणा अघि सारेको बताउनुभयो । 

प्रदेश सरकारले बृहत् लुम्बिनी पर्यटन सर्किटको अवधारणालाई समेत प्राथमिकतामा राखेको छ । तीन जिल्लालाई बौद्ध सर्किट र सिङ्गो प्रदेशलाई लुम्बिनी सर्किटका आधारमा विकास गरिने मुख्यमन्त्री आचार्यले बताउनुभयो । 

“प्रदेश सरकारले बौद्ध सर्किटको गुरुयोजना बनाउँछ । तिलौराकोटदेखि नवलपरासीको रामग्रामसम्मका सम्पदालाई जोड्ने गरी पर्यटन पूर्वाधार निर्माण गरिन्छ,” उहाँले भन्नुभयो, “लुम्बिनी आउने पर्यटकलाई एकअर्कासँग जोड्ने गरी यो अवधारणा हामीले अघि सारेका हौँ । बृहत् रूपमा लुम्बिनी सर्किटको अवधारणा छ ।” 

पर्यटकीय स्थललाई नवीनतम रूपमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरी अघि बढाउन आवश्यक रहेको भनाइ उहाँको छ । पार्कहरूमा सिमेन्टबाट बन्ने संरचनालाई निरुत्साहित गर्दै स्थानीय काठ तथा सामग्रीको प्रयोग गरेर कलात्मक आकृति तथा पर्यटन पूर्वाधार निर्माण गरिनुपर्ने उहाँले बताउनुभयो । “यहाँको पार्कमा जुन कलात्मक सिर्जना देखियो । अन्य पार्कमा पनि यहाँको सिकाइ हस्तान्तरण गर्न जरुरी छ । हाम्रा पार्कहरूमा कङ्क्रिट मोह बढ्दै गएको छ । त्यसलाई निरुत्साहित गर्न जरुरी छ,” मुख्यमन्त्री आचार्यले भन्नुभयो, “काठ र स्थानीय सामग्रीको प्रयोग गरेर आकृति बनाउन जरुरी छ । यसमा प्रदेश सरकारले पनि पहल लिन्छ ।”

बर्दियामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न ‘घुम्न जाउँ बर्दिया’ अभियान सञ्चालन गरेको बताउँदै अब देवदहमा पनि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न प्रचारप्रसार अभियानलाई तीव्र पार्न उहाँले आह्वान गर्नुभयो । “देवदहमा पनि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न जरुरी छ,” उहाँले भन्नुभयो, “यसका लागि समुदायको सक्रियता, तपाईंहरूको सक्रियता बढ्न जरुरी छ ।” बुद्ध सामुदायिक वन उपभोक्ता समूहले वन, वातावरण तथा जैविक विविधता संरक्षणका साथै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले काठबाट विभिन्न आकृति निर्माण गरेर प्रदर्शनीमा राखेको छ । ४९ हजार ७५२ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वन २०५६ सालमा स्थापना भएको थियो । २०६९ सालमा कार्ययोजना स्वीकृत भएर अघि बढेको सामुदायिक वनमा अहिले चार हजार ९९३ उपभोक्ता प्रत्यक्ष जोडिएका छन् ।