• ६ पुस २०८१, शनिबार

दाङमा सवारी दुर्घटना : एकको मृत्यु, ११ जना घाइते

blog

घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही–१० गुर्जेखोला नजिकै दुर्घटनामा परेको बस ।

लीलाधर वली

घोराही, पुस ५ गते । दाङमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिक वडा नं. १० गुर्जेखोला नजिकै शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने बसमा सवार ११ जना घाइते हुनुभएको छ । 

घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १ ख ८१६ नं. को बसले बिपरित दिशाबाट आँउदै गरेको रा ५ प ६६५४ नं. को मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही–१० निवासी ४४ वर्षीय दिलिप केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते केसीलाई उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक ईश्वर थापाले जानकारी दिनुभएको छ । प्रहरी नायब उपरीक्षक थापाका अनुसार दुर्घटनामा बसमा सवार २२ जनामध्ये ११ जना घाइते हुनुभएको छ । घाइतेलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । 

प्रहरी नायव उपरीक्षक थापाका अनुसार प्रहरीले बस चालक घोराही–१८ फुर्सेखाली निवासी वर्ष ५३ का गोपाल बिकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।