• ८ पुस २०८१, सोमबार

‘दर्शकसँग नजिकिन टाढा भएको हो’

blog

चलचित्र पिँजडाबाट नेपाली चलचित्र क्षेत्रमा पाइला टेक्नुभएका अभिनेता निखिल उप्रेतीले त्यसयता फर्केर हेर्नु परेको छैन । कुनै समयका चल्ती र व्यस्त अभिनेता निखिलले द्वन्द्वप्रधान चलचित्रमार्फत दर्शकमाझ छुट्टै छाप छोड्न सफल हुनुभयो । उहाँको ‘पपुलारिटी’ नेपालमा मात्र नभएर भारतमा पनि चुलिएको थियो । नेपालीबाहेक भोजपुरी चलचित्रमा पनि आफ्नो जादु देखाइसक्नुभएका उहाँले आफूलाई निर्माता, निर्देशकका रूपमा पनि स्थापित गरिसक्नुभएको छ । कुनै बेलाका चर्चित अभिनेता बिचमा एकाएक चलचित्रबाट हराउँदा धेरैले उहाँको सोधीखोजी गरे । उहाँ अहिले नयाँ चलचित्र निर्माणको तयारीमा मात्र हुनुहुन्न, समबोधी नामक संस्थामार्फत हरेकलाई जागृत गराउने प्रयासमा हुनुहुन्छ । प्रस्तुत छ, उहाँसँग गोरखापत्रका लागि सुकृत नेपालले गरेको कुराकानीको सार सङ्क्षेप :

 तपाई चलचित्रबाट हराउनुभएकै हो ? 

चलचित्र क्षेत्रमा बेला बेलामा हराएको चर्चा हुनु राम्रो कुरा हो । हराउनु जरुरी पनि छ । जतिबेला पनि देखिरह्यो भने घाममा नै सुकेर खत्तम भइएला नि । हराउनु नौलो होइन, यति मात्र हो कि के का लागि हरायौँ । हामी हराउनुको मुख्य कारण हामीले अध्यनयन गर्ने विषयका लागि नै हो । म दर्शकको मनमा नै छु । अहिले टाढा हुनुको कारण दर्शकसँग नजिकिनका लागि हो । नजिक हुनका लागि भएको टाढा जस्तो हो । मेरो बानीबेहोराकै कुरा गर्दा पनि म अलि एक्लै बस्न रुचाउने व्यक्ति हुँ । अरूसँग बस्दा चिढिने भन्ने पनि होइन । म सबैसँग घुलमिल हुन सक्छु । एक्लैमा म खोजहरू गर्न रुचाउँछु । अहिले चलचित्र पनि गरेको छैन । यस्तै कारणले गर्दा हराएको जस्तो भएको हो । 

तपाईं कलाकारिता कम अध्यात्मतिर धेरै घुलमिल हुन थाल्नुभएको हो ? 

अध्यात्मको कुरा गर्दा यसलाई अर्कै विषयवस्तु मानिँदो रहेछ । म अध्यात्मतिर लागेको जस्तो पनि देखिनँ । न मैले टीका लगाएको छु, न माला नै । अध्यात्म एउटा सबैले बोल्ने हिम्मत नगर्ने सत्य हो । जुन म हिम्मत गर्छु । हामीले सत्यलाई बुझ्न सक्नु पर्छ, तथ्यलाई खुलेर भन्न सक्नु पर्छ र सत्यको पक्षमा हुनु पर्छ भन्ने नयाँ पुस्तालाई सिकाउनु पर्छ भन्ने मेरो एउटा अभियान भएको हुनाले पनि मेरा कुरामा आध्यात्मिक देखिएको हुन सक्छ तर यसलाई अर्को तरिकाले भन्नुपर्दा सत्यको कुरा गर्न थालिएको हो । जब केहीमा पनि लाग्न छोडिन्छ त्यो स्वतः आध्यात्मिक हुन्छ । म कहीँ पनि नलाग्दा आध्यात्मिक भएको हो । अध्यात्ममा लाग्यो भन्ने कुरा गलत हो । कोही पनि व्यक्ति अध्यात्ममा लाग्यो भन्छ भने उसले अध्यात्म पाउन सक्दैन । दुनियाँमा लाग्ने चिजलाई छाडेपछि त्यो स्वतः आध्यात्मिक हुन्छ । 

तपाईंले संस्था पनि खोल्नुभएको छ भन्ने सुनिन्छ ?

मेरो ‘समबोधी’ नाम गरेको संस्था छ । अहिले हरेक व्यक्ति घर, समाज, परिवार, परम्परा, धर्म, देश सारा चिजबाट मात्र नभएर स्वयम्बाट पनि टाढा भएँ । सामाजिक सञ्जालले स्वयम्बाट पनि टाढा बनाइदियो । यसरी टाडा बनाइदियो कि म को हुँ भनेर सधैँ सामाजिक सञ्जालमा एउटा पोस्ट गरेर अन्यबाट म को हुँ भन्ने कुरा बुझ्नुपर्ने कुरा आयो । जब धेरै भ्यु आएपछि म समाजमै रहेछु भनेर भ्युको आधारमा आफूलाई निर्णय गर्ने समाज बन्दै जाँदै छ । यसमा नयाँ पुस्तालाई दोष दिन मिल्दैन, दोष हाम्रै हो । नयाँ पुस्तालाई हामीले त्यो सत्यता पहिले नै भन्न नसकेकाले उनीहरूलाई आफ्नो बारे बोध गराउन ‘समबोदी’ आएको हो । हामीले त्यो अभियान सुरु गर्दै छौँ । युवा गलत निर्णयमा नलागून् भन्नका लागि यो एउटा नाङ्गो सत्य बोल्ने अभियान हो । 

चलचित्र बनाउँदै हुनुहुन्छ भन्ने सुनिन्छ ? 

चलचित्र बनाउँदै छु तर नाम फाइनल गरेको छैन । चाँडै नै नाम बाहिर आउँछ । नाम दर्ता नगरेकाले बाहिर बोल्न गाह्रो छ । म अहिले धेरै नै गम्भीर विषयवस्तुमा चलचित्र बनाउँदै छु, जुन अलि महँगो पनि छ । मेरो चलचित्रमा प्रविधिको कुरा छ । नयाँ सफ्टवेयरको अद्यावधि गरिएको कुरा छन् । हामीले अवास्तविक चिजलाई कसरी भर्चुअलमार्फत वास्तविकतामा परिणत गर्न सक्छौँ । त्यो तहबाट हामीले चलचित्र बनाउन खोजिरहेका छौँ । यसमा नयाँ युवाले पनि सिक्नुपर्ने चिज छन् । हरेक विधालाई अपग्रेड तरिकाले देखाउन खोजिएको छ । हामीले ग्राफिक्सको पनि भरपुर प्रयोग गरेका छौँ । 

अहिले नेपाली चलचित्रमा दर्शकको आकर्षण बढेको छ, यसलाई कसरी हेर्नुहुन्छ ? 

नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्नु राम्रो हो तर अहिले नै मात्र आकर्षण बढेको भन्ने कुरा म मान्दिनँ । हाम्रो चलचित्र उद्योगमा एउटा चलचित्र सफल भएपछि त्यस्तै चलचित्र बनाउने लहर चल्छ । सबैले एकैखालको चलचित्र बनाउन थाल्छन् । धन्न नेपाली चलचित्रलाई दर्शकले समय समयमा हेर्दिनुहुन्छ । छक्का पञ्जा चलेपछि त्यस्तै चलचित्र मात्र आउन थाल्यो । पूर्णबहादुरको सारङ्गी बनेपछि त्यही लयमा चलचित्र बन्न थाले । द्वन्द्व भनेरपछि त्यही मात्र आए । यसले गर्दा दर्शकलाई वाक्क बनाइदिने पनि हाम्रै चलचित्र उद्योग हो । त्यसैले मौका पाएका छौँ । दर्शक हलसम्म आउन थाल्नुभएको छ, नयाँ नयाँ विषयवस्तुमा चलचित्र बनाउन म आग्रह गर्छु ।