• ५ पुस २०८१, शुक्रबार

४० लाखको लागतमा झोलुङ्गे पुल निर्माण हुने

blog

मकवानपुरको बकैया गाउँपालिका १२ मा निर्माण हुने झोलुङ्गे पुलको शिलान्यास गरिँदै ।

राममणि दाहाल

हेटौँडा, पुस ४ गते । मकवानपुरको बकैया गाउँपालिका १२ मा दातृ संस्थाको सहयोगमा झोलुङ्गे पुल निर्माण सुरु गरिएको छ । वडा १२ स्थित धेत्रेदमार र गोदामडाँडा जोड्ने झोलुङ्गे पुलको बिहीबार गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने, वडा ११ का वडाध्यक्ष गोपाल लामा र वडा नं. १२ का वडाध्यक्ष ज्ञानेन्द्र बजगाईँले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो । 

झोलुङ्गे पुलको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष लामिछानेले गाउँपालिकाले विकासमा सबै नागरिकको पहुँच पुगाउन पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

इस्थर बेन्जामिन स्मृति सस्ंथाको ४० लाख रुपियाँ आर्थिक सहयोग तथा गाउँपालिकाको समन्वयमा निर्माण हुने उक्त झोलुङ्गे पुल ९० मिटर लम्बाइको हुने छ ।

दुई महिना भित्रमा निर्माण पूरा गर्नेगरी सुरु गरिएको उक्त झोलुङ्गे पुल निर्माणपछि धेत्रेदमार, गोदामडाँडा र आसपासका क्षेत्रका बासिन्दा लाभिान्वित हुने वडाध्यक्ष बजगाईँले जानकारी दिनुभयो । उहाँका अनुसार झोलुङ्गे पुल नहुँदा वर्षा याममा स्थानीयले जोखिमपूर्ण रुपमा आवतजावत गर्नुपर्ने बाध्यता रहेको थियो ।