• ८ पुस २०८१, सोमबार

समावेशी चित्रकला प्रदर्शनी सुरु

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस ३ गते  । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा मङ्गलबारबाट ‘समावेशी चित्रकला प्रदर्शनी २०८१’ सुरु भएको छ । ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका सन्दर्भमा आयोजित प्रदर्शनीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले उद्घाटन गर्नुभयो । उहाँले हाम्रा, ज्ञान, परम्परा, शैली, शिल्पलाई नवपुस्तामा हस्तान्तरण गर्नु आजको आवश्यकता भएको बताउँदै यस्ता प्रदर्शनीले कलाको पुस्तान्तरणमा सहयोग गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “कला पर्यटनको विकासमा तथा स्वरोजगार, आत्मनिर्भर एवं कलामार्फत अर्थतन्त्रको योगदानमा पनि यस किसिमका प्रदर्शनीले विशेष महत्व राख्दछन् । अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका सन्दर्भमा प्रतिष्ठानले आयोजना गरेको प्रदर्शनीले विशेष महत्व राखेको छ । यसले एकातिर फरक क्षमता भएका व्यक्तिहरूको कला सिर्जनाको उजागर तथा अवसर प्रदान गरेको छ भने साङ्ग व्यक्तिबाट भएको कला सिर्जनाले सहकार्य, मित्रता, सामाजिक ऐक्यबद्धता, कर्तव्य बोध पनि गराएको छ ।” 

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले सामाजिक रूपान्तरणका लागि अभियानका रूपमा यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले समाजका सबै विधा तथा क्षेत्रलाई मानवीयताका रूपमा समेट्ने माध्यम नै कला भएको धारणा राख्नुभयो । प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले फरक क्षमता भएका कलाकारलाई प्रोत्साहित गर्न कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय बान्तवा राईले अपाङ्गता भएका व्यक्तिका सम्बन्धमा बनेका कानुन कार्यान्वयनको पाटो र उनीहरूलाई राज्यको हरेक कुरामा जोड्नुपर्नेमा जोड दिनुभयो । समारोहमा छोग्याल रिम्पोछे (कर्मा पुन्चोक लामा) लाई कदरपत्र प्रदान गरिएको थियो । उहाँले कलालाई आर्ट थेरापी र सिर्जना दुवै मान्न सकिने बताउनुभयो । प्रदर्शनीमा हार्तम्छाली, केके कर्माचार्य, किरण मानन्धर, पाल्साङ्मो लामा, प्रदीप अधिकारी, सौरगङ्गा दर्शनधारी, दिनेश्वर महतो, सञ्जय बान्तवा राई, अरुणा हिङमाङ, रमेशनाथ खनाल, भुवन थापा, धनबहादुर याक्खा,  केशवराज खनाल, एनबी गुरुङ, अक्कलबहादुर तामाङ, एन्जिला जोशी, अर्जुन तामाङ, बलबहादुर सार्कीलगायत कलाकारका कलाकृति समाविष्ट छन् । प्रदर्शनी पुस ५ गतेसम्म चल्ने छ ।