• ८ पुस २०८१, सोमबार

गौतमलाई भूपि पुरस्कार

blog

गोरखापत्र समाचारदाता

लेखनाथ, पुस ३ गते । यस वर्षको भूपि काव्य पुरस्कार साहित्यकार असफल गौतमलाई प्रदान गरिने भएको छ । ९० औँ भूपि जयन्तीका अवसरमा पुस १० मा पोखरामा आयोजना गरिने समारोहमा गौतमलाई पुरस्कारबाट सम्मानित गरिने छ । स्याङ्जाको पुतलीबजार घर भई हाल पोखरामा क्रियाशील गौतमका नौ पुस्तक र केही गीति एल्बम बजारमा आएका छन् । थकाली सेवा समितिका अध्यक्ष तेजेन्द्र तुलाचनले प्रतिभा छनोट समितिले गौतमले साहित्य सिर्जना र समालोचना क्षेत्रमा गरेको योगदानको कदर गर्दै पुरस्कृत गर्ने निर्णय गरेको जानकारी दिनुभयो । 

प्रत्येक दुई वर्षमा प्रदान गरिने पुरस्कारको राशि ५० हजार र ताम्रपत्र छ । यसअघि यो पुरस्कारबाट सरस्वती प्रतीक्षा, मोमिला, रत्नशमशेर थापा, तीर्थ श्रेष्ठ र उषा शेरचन सम्मानित भइसक्नुभएको छ । 

विसं १९९२ पुस १० गते मुस्ताङमा जन्मिनुभएका कवि शेरचनको योगदानलाई चिरस्थायी बनाउन र नेपाली साहित्यकारलाई प्रेरणा थप्न उहाँको परिवारले स्थापना गरेको यो पुरस्कार थकाली सेवा समिति पोखराले सञ्चालन गर्दै आएको छ ।