• ३ पुस २०८१, बुधबार

पेट्रोल पम्पमा ग्राहक ठगी, अनुसन्धानका लागि पम्प शिल

blog

सांकेतिक तस्बिर

जयकृष्ण यादव 

इनरुवा , पुस २ गते। सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकामा रहेको भगत पेट्रोल पम्पले ग्राहकलाई ठगी गरेको घटना सार्वजनिक भएको छ।कम परिमाणमा इन्धन बिक्री  गरेर ग्राहकलाई ठगी गरेको घटना सार्वजनिक भएपछि अनुसन्धानका लागि पम्पमा शिलबन्दी गरिएको छ।

पेट्रोल पम्पले ग्राहक ठगिरहेको गुनासो आएपछि नेपाल आयल निगमका प्राविधिकले उक्त पेट्रोल पम्पलाई शिल गरेका हुन्।आयल निगमका प्राविधिकका अनुसार महिनैपिच्छे पम्पको चेकजाँच हुने र नापतौलका औजारको अवस्था जाँच गरिने भए पनि यस पम्पमा प्राविधिक समस्या देखिएको छ।

पम्प सञ्चालक दीपनारायण भगतले मेसिनरी उपकरण कहिलेकाहीं बिग्रने सम्भावना हुने भएकाले समस्या भएको प्रतिक्रिया दिनुभयो।यसबारे आयल निगमलाई समयमै जानकारी गराएको भए पनि प्राविधिक ढिलो आएकाले अहिले पम्पलाई पूर्ण रूपमा शिल गरिएको उहाँको भनाइ छ।

पाँच हजारको डिजेल किन्दा पाँच लिटर कम भेटिएपछि स्थानीयले गुनासो गरेका थिए। किसान काममा व्यस्त हुँदा बालबालिकालाई डिजेल किन्न पठाउँदा ठगिएको स्थानीयको गुनासो छ।स्थानीयले पम्प सञ्चालकसँग गुनासो गर्दा सुनुवाइ नभएपछि घटना सार्वजनिक भएको हो।