• ८ पुस २०८१, सोमबार

हर्षोल्लासका साथ मनाइयो उँधौली

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १ गते । प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उँधौली पर्व देशभर हर्षोल्लासका साथ मनाएका छन्  । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन उँधौलीका अवसरमा किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम मनाउने गर्छन् । 

यस चाडमा परम्परागत बाजागाजा एवं विशेषतः किराँत संस्कृतिको अमूल्य साङ्गीतिक बाजा ढोल, झ्याम्टालगायत बजाइन्छ । भूमिपूजा गर्दै आइतबार बिहानैदेखि किराँत महिला तथा पुरुषले जातीय वेशभूषामा सजिएर विभिन्न नाचसहित यो पर्व मनाएका छन् । ललितपुर महानगरपालिका–१४, नखिपोटमा किराँत राई यायोक्खा समुदायले साकेला सिली नाच्दै उत्साहका साथ उँधौली चाड मनाएका हुन् । यस अवसरमा किराँत राई यायोक्खा, ललितपुर जिल्ला कार्यसमितिले सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । किराँत समुदायका युवती आफ्नो मौलिक वेशभूषा र गहनामा सजिनाका साथै युवा दौरासुरुवाल र टोपीमा सजिएर ढोल र झ्याम्टा बोकी साकेला नाच्दा माहोल उल्लासमय देखिएको थियो । उँभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उँधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भुमे) लाई धन्यवाद दिने गरिन्छ ।

समितिका अध्यक्ष भूपेन्द्र पुमा राईले भन्नुभयो, “आजका दिन प्रकृतिले राम्रो साथ दियो भन्ने अर्थमा प्रकृतिलाई पूजा गरिन्छ र धन्यवाद दिइन्छ । उँभौलीमा अन्नबाली छरिन्छ, रोपिन्छ । त्यो उँधौलीमा उठाइन्छ र पितृ पुर्खालाई चढाउने काम हुन्छ ।” उहाँले भन्नुभयो, “भूमिपूजा गरेर किराँत महिला तथा पुरुष आफ्नो मौलिक वेशभूषामा सजिएर साकेला सिली नाच्ने गर्छन् । ललितपुरको हात्तीवनमा पितृपूजा गरेर यहाँ नखिपोटमा साकेली सिली नाच्छौँ । साकेला सिलीमा हाम्रो पुर्खाले ढुङ्गेयुगदेखि आजसम्म के के गरे, सबै देखाइन्छ । विभिन्न खानपानसहित चाड मनाइन्छ ।” सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न नेपालमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिका आआफ्ना विशिष्ट संस्कति र परम्परा छन् । सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने नेपालीको आफ्नै विशिष्ट पहिचान पनि छ ।