राजधानी रहेका विश्वकै सहरको विशेष महत्व हुन्छ । देशभित्र केवल कुनै सहर वा महानगर मात्र भए पनि त्यसले आन्तरिक र बाह्य प्रभाव पार्न ठुलो भूमिका निर्वाह गरेको हुन्छ । देशभित्रका सबै नागरिकका निम्ति आफ्नो राजधानी सहरप्रति गौरव र स्नेह हुन्छ । कैयौँ नागरिकका निम्ति राजधानी सहर मात्र होइन, रहर नै हुन्छ । त्यहीँ जाने, अध्ययन र रोजगारी गरी त्यहीँ बसोबास मिलाउने चाहना र सङ्घर्ष हुन्छ । काम, अध्ययन तथा विविध कारणले राजधानीमै बस्न रुचाउने पनि धेरै हुन्छन् । राज्यका सबै जसो मुख्य सरकारी गतिविधि राजधानी सहरमै देखिने हुँदा त्यसको राजनीतिक महìवले पनि ठाउँ पाउँछ । देशवासीका निम्ति मात्र होइन, बाह्य जगत्मा पनि राजधानी सहरको विशिष्ट महìव र पहिचान हुन्छ नै । राजधानी सहरमै कूटनीतिक चहलपहलसँगै पर्यटन तथा व्यापार व्यवसायले आकर्षण दिन्छ । आर्थिक, सांस्कृतिक तथा आयामिक विशेषताले राजधानी सहरलाई विश्वमै चिनाएको हुन्छ । काठमाडौँ यी सबै वैभवले विश्वभर चिनिँदै छ र थप चिनाउने चुनौती पनि छ ।
काठमाडौँ महानगरपालिका स्थापनाको ३० औँ महानगर दिवस शनिबार भव्य रूपमा मनाइयो । काठमाडौँले २०५२ साल मङ्सिर २९ गते महानगरको पहिचान पायो । विश्वकै विशिष्ट इतिहाससँगै कहिल्यै औपनिवेशिक कुचक्रमा नफसेको नेपालको राजधानी काठमाडौँ मन्दिरैमन्दिरको सहरका रूपमा ख्यातिप्राप्त छ । काठमाडौँभित्र विश्व सम्पदामा सूचीकृत भएका सांस्कृतिक वैभवका सम्पदा विश्वभरकै पर्यटकका निम्ति आकर्षणका केन्द्र बनेका छन् । यहाँको रहनसहन र खानामा मौलिक संस्कृतिको लामो र अटुट परम्परा छ । काठमाडौँका मन्दिरमा देखिने कला, वास्तु शैलीले प्राचीन नेपालको सभ्यता र समृद्धिको अध्ययनमा विश्वभरलाई आकर्षित गर्न सक्छ । यहाँका मूर्त र अमूर्त कला महानगरका साथै देशकै गौरवका अमूल्य सम्पत्ति हुन् ।
महानगरपालिका स्थापनाको ३० औँ वार्षिकोत्सव भव्य बन्यो । विशिष्ट स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेर महानगरले नवीन अध्याय आरम्भ गरेको छ । महानगरका ३२ वटै वडा समेटिएको विशेष झाँकीप्रति सर्वसाधारणको आकर्षण देखियो । परम्परागत मौलिक संस्कृति, खानपान, रहनसहन प्रतिविम्बित हुने गरी महानगरले टुँडिखेलमा गरेको कार्यक्रमले अब्बल आकर्षण दियो । कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति रामसहायप्रसाद यादवले काठमाडौँ महानगरपालिका स्थानीय सरकारको भरोसा जगाउन सफल भएको बताउनुभयो । सङ्घीय गणतान्त्रिक नेपालमा अहिले तीन तहका सरकारको अभ्यास भइरहेको छ । काठमाडौँ महानगरले यताका वर्षमा सङ्घीय अभ्यास गर्दै सरसफाइमा विशेष ध्यान दिएको छ । कुनै बेला धुलो र धुवाँले धूमिल छवि बनाएको काठमाडौँ अहिले सफा हुँदै छ । राजधानीलाई हरित सहर बनाउने दिशामा पनि महानगर अगाडि बढेको देखिन्छ । सडकवरिपरि हरियाली छाएको छ भने बागमती, विष्णुमतीलगायतका नदीको संरक्षणतर्फ अग्रसरता छ । उपराष्ट्रपति यादवले भन्नुभए झैँ महानगरले संविधान, कानुन र प्रचलित व्यवस्थाले दिएका अधिकारको पूर्ण अभ्यास गर्दै अरू महानगरलाई समेत मार्गदर्शन गरिरहेको छ ।
खास गरी महानगरको हालको नेतृत्वप्रति महानगरवासीको ठुलो भरोसा देखिएको छ । महानगरलाई विश्वकै महानगरबिच अब्बल चिनारी दिलाउने प्रयास जारी देखिन्छ । वार्षिकोत्सव कार्यक्रममा महानगरका प्रमुख बालेन्द्र साहले महानगर सङ्घीय राजधानी सहर भएकाले सबैले आफ्नो भन्न सक्ने, बस्नयोग्य, व्यवस्थित र सुरक्षित सांस्कृतिक सहर बनाउन सबैको सहयोगको अपेक्षा गरेको बताउनुभयो । सङ्घीय राजधानीसमेत भएका कारण महानगरका स्रोतसाधनले मात्र यहाँको भौतिक तथा सांस्कृतिक आकाङ्क्षा पूरा गर्न कठिन हुन्छ । जनघनत्वको चाप, युगौँदेखिको परम्परागत बसोबासमा आधुनिक विकासले ल्याएका चुनौती आदिका कारण पनि महानगरको व्यवस्थापन सजिलो कार्य होइन । महानगरले भने साधन र स्रोतको प्रभावकारी परिचालन गरेर व्यवस्थापनलाई प्रभावकारी बनाउने प्रयत्न निरन्तर गरेको देखिन्छ ।
परम्परागत सांस्कृतिक सहर हुँदाहुँदै पनि आधुनिकीकरणबाट राजधानी सहर पछाडि फर्कन सक्दैन । आधुनिक सहरका आवश्यकताप्रति दीर्घकालीन योजनामा अगाडि बढ्नुपर्ने हुन्छ । सहज सार्वजनिक यातायातले मात्र आधुनिक सभ्यताको सही पहिचान दिन्छ । यो महानगरको जिम्मेवारी मात्र होइन; निजी सवारीसाधनको बढोत्तरीभन्दा सहज, दु्रत र प्रभावकारी सार्वजनिक यातायातको दीर्घकालीन योजना अगाडि बढ्नुपर्ने आवश्यकता छ । सांस्कृतिक वैभव जोगाउँदै महानगरीय जीवनका आयाममा नवीनता पनि ल्याउनु जरुरी छ । त्यसनिम्ति नवीन प्रविधिको प्रयोग गर्दै सरसफाइ, हरित विकास, शिक्षा, स्वास्थ्य, पिउने पानी, बसोबासका सुविधालाई सहजीकरण गरिनु पर्छ । देशकै गौरव राजधानी सहरलाई विश्वकै पर्यटकीय आकर्षणको केन्द्र बनाउन सक्दा मुलुकमा समृद्धिको ढोकासमेत खुल्दै जाने छ ।