कविताको माध्यमले जीवनजगत् अध्ययन गर्नु अनि यसैबाट सम्पूर्णतामा यसलाई नै व्यक्त गर्नु कविको धर्म एवं दर्शन हो । कवि एक शिक्षक पनि हो र एक दार्शनिक पनि । मनका गुम्फनदेखि चराचर संसारलाई मानव संवेदनाका अक्षरले सिँगार्ने कला कविहरूसँग हुन्छ । यस्तो किसिमको कला सितिमिति हासिल गर्न सकिन्न । आफैँभित्र हेर्ने चाहना, आफैँलाई बुझ्ने तत्परता, चिन्तनमा धैर्य, सामाजिक परिवेशको गहिरो विश्लेषणसहित समयको चेतना भएको व्यक्तिले चाहेमा कविता जन्मिन सक्छ । कवितालाई गतिलो, निर्गतिलो, असल र खराब भनेर वर्गीकरण गर्न चाहन्नँ म किनकि खराब त कविता होइन, निर्गतिलो त कविता होइन, त्यो त फगत लेखाइ हो वा गनगन हो । त्यसैले कविता आफैँमा उत्तम भाव हो अनि गहन अभिव्यक्ति पनि ।
कवि हुनुको सार्थक सम्भावना बोकेर कवि जुनु घिमिरे आउनुभएको छ आफ्नो दोस्रो कवितासङ्ग्रह ‘प्रदीप्त मन’ सँगै हाँस्दै र रमाउँदै । जम्मा ४३ वटा कविता समेटिएको सङ्ग्रहमा ‘प्रदीप्त मन’ नामक कविता छैन किनकि शीर्षक कुनै एक प्रतिनिधि कविताको नामबाट राखिएको छैन । कविको आशय के देखिएको छ भने यहाँ प्रस्तुत सबै कवितामा मन छ र त्यो प्रदीप्त छ, उज्यालिएको छ र प्रकाशमान छ । संवेदनशील मन फक्रिएको नै हुन्छ । शीर्षकमा विभिन्नता देखिएको कवितामा एकातिर उजाडिएको गाउँ देखेर कवि पीडित छिन् भने अर्कातिर समर्पित प्रेमले मात्र मायाको समुद्रमा डुबुल्की लाउँदै आन्नदको मोती टिप्न सक्छ भन्दै कवि प्रेममा रमाएकी छिन् । बादललाई स्वतन्त्र देख्नेहरूले आकाशसँग यो कति अनुबन्धित छ भन्ने तथ्य नबुझेकोमा गुनासो पनि छ । कविको मन रुन्छ घरी घरी देखेर ममतामयी आमाहरूको रित्तो मन । छोराछोरी नभएर वा टाढिएर वा निष्ठुरी भएर अनि आफैँलाई त्यो परिस्थितिमा खोज्दा हुँडलिन्छ कविको मन । मौनताले प्रेमको रोमाञ्चकता खोज्छ भन्दै ‘आवाजविहीन आवाजमा’ कवि छचल्किन्छिन्,
यदि अव्यक्त प्रेमले
यसरी नै सुखानुभूति दिन्छ भने
आऊ शब्द लुकाएर
केही प्रेमिल बात मारौँ आँखाले ।
मान्छेदेखि देवतासम्म अटाउने र प्रभुदेखि प्रकृतिसम्म बचाउने सुन्दर र सुवासित घर स्वर्ग समान हुन्छ भनी कवि आफ्नै बाको सम्झनामा घरी दुःखी हुँदै बाकै प्रेरणाको किरण छर्दै जीवनका कठिन बाटाहरू हिँड्न पनि आपूm सफल भएकोमा सन्तुष्टि व्यक्त गर्छिन् । पर्दापछाडिका अपराधीहरूले युवाको रसमय जीवनलाई बालुवाको रस चुसाएर उखुको खोस्टा बनाएकोमा र तिनै अपराधीले सजाय नपाएकोमा जुन आक्रोश पोखिएको छ त्यो वास्तवमा देशप्रेम हो र जनप्रेम पनि । माफी र सहयोगमा साँचो मित्रता र असल छिमेकीपन पाइन्छ । अहिलेसम्म पनि जातीय विभेदको अमानवीय क्रूरता देखिएकोमा गुनासो पनि छ । छोरा परदेसिएपछि एक्ली आमाको पीडा र त्यही पीडामा पनि सन्तानलाई शुभकामना र उपदेश पोखिएको छ :
छोरा !
जिन्दगीमा एउटा कुरा नभुल्नु
मूल्यवान् वस्तुहरू कहिलै मूल्यहीन हुँदैनन् ।
यहाँ प्रत्येक वस्तु मूल्यवान् छन् र तिनीहरूको उपादेयता देश, काल, परिस्थिति अनुसार बुझ्न सक्नु पर्छ भन्ने आमाको आशय सबै छोराछोरीले बुझिदिए हुन्थ्यो । यस्तै भाव ‘चिन्ता अन्तिम संस्कारको’ पनि पाइन्छ जहाँ पहिलो पङ्क्तिमा अनुप्रासको प्रयोग छ :
चैतन्य, चिन्तन र चेतना
सार्थक जीवनको एउटा अध्याय पनि हो ।
‘घर, सत्य र भ्रम’ मा घरको परिभाषा विम्बहरूको प्रयोगद्वारा दिइएको छ । यसै गरी आमाको अर्को रूपमा आफ्नै छोरीमा आमाको प्रतिरूप पाएकोमा प्रफुल्लित हुँदै जुनु घिमिरे भन्छिन्, “तीन पुस्ताको सामञ्जस्यले ममताको हिमाल चुलिन्छ ।” स्वैरकल्पनाको प्रयोग पनि भेटिन्छ :
आखिर कल्पनाको गगनमा सफर गर्दै मनमनै हराउनु पनि त प्रेम रहेछ ।
‘सन्तान उडेपछि’ र ‘उड्यो एक योद्धा’ ले काम या अध्ययनका नाममा विदेश गएका वा जान तम्सेका सन्तानसँगको वियोगको दुःख छ भने विद्यार्थीलाई योद्धा भनी विम्बको मिठो प्रयोग गरिएको छ । साँच्चै भन्नुपर्दा विद्यार्थी योद्धा नै हो । आफूभित्रको अँध्यारो कलुषित विचारसँग लडाइँ गर्छ विद्यार्थी र ज्ञानका मधुर रश्मिहरू लिएर झुल्किन्छ एउटा छुट्टै सार्थक जीवन लिएर । अझ विदेशमा जाने विद्यार्थीहरूले त चर्को लडाइँ गरी आफैँलाई अनि प्रतिकूल परिस्थितिलाई विवेकको हतियारले जित्नु पर्छ तर यो काम सजिलो छैन र ऊ योद्धा, निर्भीक सिपाही हुनु पर्छ । त्यसै गरी नारीलाई मनोरञ्जनको साधन मान्ने पुरुषको सोच र व्यवहारप्रतिको गुनासो कवि भगवान्लाई प्रश्न तेर्साएर गर्छिन्, भगवान्का पालामा पनि नारी अस्मिता लुटिएको थियो भन्दै तर भगवान्का सबै क्रियाकलाप मान्छेले नै लेखेका हुन् ।
कविता सधैँ आलङ्कारिक हुन्छ । उपमा, उपमेय र विम्बको सन्दर्भगत प्रयोग पाइन्छ जुनुका कवितामा । सबै कविता गद्य शैलीमा लेखिएता पनि अनुप्रासको उदाहरण केही कवितामा पाइन्छ । गद्य र पद्य त कविताको निजी लय तथा शैली हो । आफूलाई जुन शैलीमा पोखिन्, छताछुल्ल हुन सजिलो हुन्छ, विचार संवेदनालाई छर्न मज्जा हुन्छ त्यही शैली पछ्याउनु पर्छ । पद्यमा छन्दको ज्ञान र अभ्यास आवश्यक भएकाले धेरै कवि गद्यमा पोखिन चाहन्छन् । कवि जुनु घिमिरेले पनि आफूलाई सजिलो लाग्ने गद्य शैली अपनाएको हो र त्यो ठिक पनि हो । मूल कुरा कवित्व हो । कवितामा भएको सङ्गीत र सम्प्रेषणीयताले कविताको सन्देश र अर्थलार्ई खुलाउँछन् । सरल भाषामा लेखिएका सबै कविता त्यसैले सम्प्रेषणीय छन् । कविता क्लिस्ट भाषामा नलेखिएकै राम्रो । जुनुले यो लय राम्ररी बुझेकी छिन् । त्यसैले कविताको संसारमा उनको भविष्य गतिलो देख्छु म ।
समग्रमा कवितामा रुचि हुने पाठकलाई यो पुस्तक ‘प्रदीप्त मन’ पठनीय र सङ्ग्रहणीय छ भन्ने मलाई लाग्छ ।
वरिष्ठ कवि डा. नवराज लम्सालको सटिक भूमिका भएको पुस्तक जुपिटर प्रिन्टिङ एन्ड पब्लिसिङ हाउस प्रालि काठमाडौँले छापेको र कविकै सर्वाधिकारमा ११२ पृष्ठको यो कवितासङ्ग्रहको मूल्य रु. २०० रहेको छ ।