• १० पुस २०८१, बुधबार

राराको छालमा छचल्किँदो मन

blog

आहा ! कति रमणीय सौन्दर्य ! कति मिठो सरसराहट ! आमाको स्नेहिल स्पर्श ! रारा तिमीलाई कोटी कोटी प्रणाम !

सौम्य र सुन्दर तिम्रा विशाल वक्षस्थल ! करिब १० वर्ग किलोमिटरको परिधिको फैलावट र १६७ मिटरसम्मको गहिराइबाट पग्रिरहेका दुधका धारा कञ्चन र स्वस्थकर भेटिरहेछु म ! बतासको सरसराहट ! पलपल बदलिएको तिम्रो रूप ! मोती झल्किए झैँ टलपल टलपल जलकण ! मार्सी र उवाका सुगन्ध ! स्याउ र जडीबुटीका सौरभमा ! रारा तिम्रो स्नेहिल मुस्कानमा अनुगृहीत छु म !

समुद्र सतहबाट दुई हजार ९९० मिटर उचाइमा करिब तीन किलोमिटर फराकिलो र पाँच किलोमिटर लम्बिएको तिम्रो स्वरूप साह्रै चित्ताकर्षक देख्दै छु म । चारैतिर सौम्य मुद्रामा उभिएका हरित पर्वतशृङ्खलाले परिवेष्ठित रारा ! तिम्रो निलो जलाशयमा वात्सल्य भेट्दै छु म । 

यति अग्लो र विकट स्थानमा पनि कसरी मुस्कान, रमाउन सकेकी हौली तिमी ? चित्ताकर्षक स्वरूप कसरी बचाइराख्न सकेकी हौली ? अचम्म लाग्छ ।

रारा ! तिमी अद्भूत छौ, महान छौ ! तिम्रै दर्शनका खातिर जीवनको उत्तरार्धमै भए पनि आइपुगेको छु बल्लतल्ल ।

हरिया चोली, पछ्यौरी र फरियामा चिटिक्क ! कति हिस्सी परेकी ? कसैले तिमीलाई भनेका थिए ‘स्वर्गकी अप्सरा’ ! साँच्चै हो रहिछौ तिमी, मेरै आमा जस्ती स्नेहिल, ममतामयी र सौन्दर्यमयी ! 

२०२८ साल आजैका दिन स्वर्गवासी आमालाई स्मरण गरिरहेछु म ! र, स्थानीय जाँगरिला आमाका रसिलो ड्यौडा नाचमा भेटिरहेछु किंवदन्तीकी बुढी आमैलाई पनि जो राराको उत्पत्तिकी संंवाहक थिइन् । प्रफुल्ल देखिन्छन् ती आमा आफ्ना दुःख दर्द भुलेरै पनि । आमाको स्वभावै हो, आफू कष्ट सहेर पनि आफ्ना सन्ततिलाई कष्ट नहोस् भन्ने कामना गर्नु । सोही अनुरूप व्यवहार गर्नु । 

शिरमा अडाएर पिठिउँसम्मै लत्रिएको कालो काम्लो, ठेटुको फरिया र कम्मरमा साउडो (पटुका) कसेका, कम्पनीमालाले सजिएका स्थानीय आमाको ड्यौडा जम्जमाइरह्यो हाम्रै खातिर ।   

यस्तै यस्तै लोकवार्ताको खोजीमा देशको कुनाकाप्चामा बर्सेनि पुग्ने गर्छ लोकवार्ता परिषद् नेपाल । सुर्खेतबाट सुरु भएको यसको तेह्रौँ सङ्गोष्ठी दैलेखको डुल्लु, कालीकोटको मान्म, जुम्लाको तातोपानी र सिँजा, मुगुको गमगढी हुँदै मुगुकै रारामा पुगेर विसर्जन हुँदा पनि घन्किरह्यो ड्यौडा ! 

ड्यौडा पश्चिम नेपालको विशेष गीतसङ्गीत हो । नाचगान हो । ड्यौडामा जीवन हाँसेको हुन्छ, जीवन बाँचेको हुन्छ । डेढी पाइलामा देब्रे गोडा चालेर देउडिँदै (झुम्दै) कुममा कुम मिलाएर हात जोल्ट्याउँदै मन्द चालमा नाच्ने र डेढ पटक गीत गाइने लोकनृत्य नै ड्यौडा हो । यो सामूहिक लोकनृत्य समाजको पहिचान पनि होे । 

अछाम निवासी सहयात्री प्राज्ञ यज्ञराजजी र आमासमूहको अगुवाइमा हामी पनि झुम्यौँ केहीबेर ड्यौडा र राईझुमामा । मक्ख पर्‍ र्यौं हामी लोकवार्ताका सिङ्गो समूह ! र त, बसको घुमाइ र हुइँकाइ साथ एक/डेढ घण्टाको पैदल हिँडाइको थकानमा पनि उत्साह र उमङ्ग सेलाएन । लोकवार्ता तरङ्गित हुँदा रारा पनि चलमलाइन् टलपल टलपल !

‘माखाल’ पनि मुस्कुरायो राराको डिलमा बसेर । झापाको ‘माखाल’ आइपुगेको छ रारामा मेरै साथ लागेर ! नेपालको सुदूरपूर्व झापाबाट सुदूरपश्चिमनिरको मुगुको रारामा ! यतिबेला लोकवार्ताको मिठो सङ्गम बनेको छ रारा ।

झापाको मेची नदीको आसपास बसोबास गर्ने रैथाने अल्पसङ्ख्यक आदिवासी मेचेको परम्परित पद्धति हो ‘माखाल’ ! ‘माखाल’ अर्थात् गाउँबुढा अथवा अगुवा वा गाउँमुखिया । आफ्नो समुदायको नेतृत्व गर्न मेचेहरूमा आफैँबाट माखाल चुन्ने र शासन गराउने परम्परा छ । यो प्रजातान्त्रिक पद्धति मिठो लाग्छ । 

यिनै ‘माखाल’ अहिले मसँगै आइपुगेका छन् रारा ! सशरीर होइन एउटा नवीनतम पुस्तकका रूपमा ! भर्खरै परिचय पब्लिकेसनबाट प्रकाशित म स्वयम्द्वारा लिखित सांस्कृतिक उपन्यास ‘माखाल’ !

रहर हो ‘माखाल’ को रारालाई आफ्नो मुख देखाउने । हुन त काठमाडौँमै पहिलो पटक मुख देखाइ वा लोकार्पण भइसकेको हो तर पनि राराको सांस्कृतिक परिवेशमा आफ्नो परिचय साट्न पनि आइपुगेको हो ‘माखाल’ । लोकवार्ता परिषद्का अध्यक्ष भगेश्वर पङ्गेनी, भाषाविद् माधव पोखरेल, प्राज्ञ यज्ञराज उपाध्याय, कपिल लामिछाने, कुसुमाकर न्यौपाने, शीतल गिरी, ध्रुवप्रसाद भट्टराई ‘प्रभृति’ लोकवार्ताविद्लाई साक्षी राखेर रारालाई भेट्न पाउँदा मक्खिएको छ माखाल ! मक्खिएको छु म स्वयम् र मक्खिएकी छिन् स्नेहिल राराताल !

आहा ! लोकवार्ता सम्बन्धित कृतिहरू डा. भक्त राईको ‘नेपाली लोकगीतको परिचय’, गायत्री पराजुलीको ‘तिजपर्वको तरङ्ग’ प्रवीण पुमाको ‘सुम्निमा पारुहाङ’ एवं प्राडा कपिल लामिछानेको ‘राराको डिलमा’ कृतिहरू लोकार्पण हुन पाएकोमा हौसिए तिनका सर्जकहरू पनि ! 

रारा ! तिमी पनि सुई सुई सुसेल्दै छालमा छमछम नाचेकी देख्दा रमाउँछ मेरो मन ! र त, गमगढीको न्यानो बास एवं सल्लेरी (रारा निकुञ्जको बेसक्याम्प) को मार्सीको भात र च्याङ्ग्राको तिहुनको बल अझै बचाइराख्न चाहिरहेछु म । किनकि धेरै वर्षदेखि थातीरहेको मेरो रारा यात्राको धोकोलाई रोमाञ्चक यात्रा साबित गर्न खोज्दै छु म ! थाक्नु र लत्रिनु हुँदैन मैले । जीवनको उत्तरार्धमा तिम्रै आडभरोसामा उक्लिरहेछु र हौसिरहेछु ।

रारा ! यतिखेर म घोत्लिरहेछु ! जीवनमा पहिलो पटक तिम्रो स्नेहिल मुस्कान र चारैतिरका हरियाली वक्षस्थल नियाल्दै तिम्रै विगत कल्पिरहेछु ।   

हो नि ! सात गाउँ विलय भएर ताल बनेकी तिम्रो बचेका रारा र छाप्रु गाउँसमेत हटाएर २०३२ सालमा रारा राष्ट्रिय निकुञ्जको स्थापनार्थ वृक्षरोपण गरिएको रहेछ । वृक्षरोपणले शीतल थपिए तापनि विश्व जलवायु परिवर्तनको प्रभावले रारालाई पनि न्याकिसकेको अनुभूत गरिरहेछु ।

“शीतल सर र तेज सरको जोडी खुब मिलेको छ । त्यसैले त रारामा पनि न जाडो छ, न गर्मी नै छ । शीतल र तेज मिलेपछि त अनुकूल मौसम हुने नै भयो नि !” प्याच्च ३० जना सहयात्रीमध्ये कसैले भनेको सुन्छु । हो त ! कति मज्जाको मौसम ! न वर्षा, न त हिमपात ! निकुञ्जको सरसराउँदो हावा पनि मज्जाकै !

२०३४ साउन २४ गते घोषित ‘रारा राष्ट्रिय निकुञ्ज’ मुगु र जुम्लाका केही भाग ओगटेर १०६ वर्ग किलोमिटरमा फैलिएको रहेछ । यस निकुञ्जले हालको मुगुको छायानाथ रारा नगरपालिका, सोरु खत्याङ गाउँपालिका र जुम्लाको कनकासुन्दरी गाउँपालिकाको केही भूभाग ओगट्दै राराताललाई पनि आफ्नो पोल्टामा समेटेको छ । 

यस निकुञ्जमा देबदार, सल्ला, गुराँस जस्ता बोटबिरुवाका साथै दुर्लभ तथा संरक्षित हाब्रे, कस्तुरी, बँदेल, मृग, डाँफे, कालिज, जलहाँस आदि पशुपन्छी संरक्षित रहेछन् ! 

हाल हनुमान गुल्मद्वारा सुरक्षित यस निकुञ्जमा ठाउँ ठाउँमा सुरक्षा पोष्ट रहेको जानकारी पियुठ प्रेम खत्रीले दिए । साँझलाई पछ्याउँदै पश्चिमतिर लाग्दै गर्दा साँच्चै राराको पारिपट्टि हनुमान गुल्मको ब्यारेक देख्यौँ । ओझेल पर्दै गरेको घामसँगै राराको गोधूलि साँझको सुन्दरता आँखैमा सलबलाउँदै थियो । गन्तव्य अझै टुङ्गिएको थिएन । एक घण्टाको बाटो अझै छिचोल्न बाँकी नै रहेछ । गाँसबासका लागि आज ‘होटेल इको’ अनुबन्धित थियो, जो रारातालबाट आठ सय मिटरजति पर थियो । 

ज्येष्ठ नागरिकमध्ये ८० का हाराहारीका हामी माधव पोखरेल सर र म पनि लट्ठीको भरमा अघि बढ्दै थियौँ । राराको दक्षिणतिरको राराको निकास कुलकुलाउँदो जलप्रवाह पछ्यायौँ । जलप्रवाह देख्दा राराको मुहान गतिलै रहेको अडकल्छु । साँझको गोधूलिमा उबडखाबड बाटो पछ्याउँदै होसियारीका साथ हामी गन्तव्यमा पुगिछोड्छौँ । सेल्फीका सौखिन सहयात्री शशी थापा पण्डित घोडसवार गरी अगि नै पुगिसकेकी रहिछिन् । हामी पनि सुस्तसुस्त पुग्छौँ । 

जङ्गलको बिचमा एकान्तमा अवस्थित रहेछ होटेल इको । क्याम्प फायरको न्यानोमा साँझ नाचगानका साथ रमाइलैसँग बित्यो । आजका मेरा कोठेसाथी कपिल सरको विद्वत्तामा लुटपुटिएँ म । यात्रामा कोठेसाथीको अदलबदल त भइरहन्छ नै । 

कात्तिक १२ गते (२०८१) को बिहान जुरुक्क उठेर पाँचैबजे लागौँ हनुमान गुल्मतिर, जहाँबाट सेनाको सौजन्यतामा प्राप्त हुने डुङ्गाबाट रारा छिचोल्नु थियो ।  

बिहानीको पहरमा रारामा डुङ्गा सयर पनि नौलो अनुभूति रह्यो । कुसुमाकर न्यौपाने, भक्त राई, प्रवीण पुमा, तिलविक्रम आङ्दम्बे, माधव लामिछाने, बालकृष्ण शर्मा आदि आठ जना सहयात्रीहरू एउटा डुङ्गामा सवार भयौँ । हामीलाई हाँके सेनाका भाइहरू, पियुठ प्रेम खत्री, सिपाहीहरू भुवन रावत, नवराज हमाल, बालकृष्ण कार्कीले । 

भर्खरै रचित ‘रारा’ कविता राराको छालसँगै वाचन गर्न खोजेँ मैले तर हल्लिएको डुङ्गामा मोबाइलबाट वाचन गर्र्न सकिनँ । आँखा तिरमिराए । अनि माधव लामिछाने सरलाई आग्रह गरेँ । उहाँले मज्जाले वाचन गर्दा अन्य सहयात्रीले ताली बजाए । म भने बुढ्यौली अनुभूत गर्दै कविता स्मरण गरिरहेँ ः

रारा तिम्रो वक्षस्थलमा स्नेहको न्यानो छाल भेटेँ

ड्यौडाको सौम्य चालमा आमाको ममता भेटेँ ।......

प्रवीण पुमा र भक्त राई सरहरू पनि हौसिए, उनीहरूले सूचना प्रवाह गरे । कुसुमाकर सरले रारासम्बन्धी मौखिक गीत नै गुनगुनाए । आआफ्नो सिर्जनामा रमायो हाम्रो मन । 

म राराको छचल्किएको छालमा मन्त्रमुग्ध भएँ । अब कहिले भेट होला, खोइ ? यो जुनिमा त यस्तै हो । भावुक बनेँ म ! पर्यटकीय सुन्दर गन्तव्य राराको न्यानो स्नेह आँखामै अल्झाएर बिदाइको नमस्कार टक्रयाएँ ।   

Author

तेजप्रकाश श्रेष्ठ