• ११ पुस २०८१, बिहिबार

भारतीय अभिनेता ‘अल्लु अर्जुन’ पक्राउ

blog

भारतीय अभिनेता अल्लु अर्जुन

नयाँ दिल्ली, मङ्सिर २८ गते । भारतीय अभिनेता अल्लु अर्जुनलाई शुक्रबार पक्राउ गरिएको छ । चलचित्रको विशेष प्रदर्शनका क्रममा उपस्थित भएका समय भएको भागदौडमा एक महिलाको मृत्यु भएको घटनालाई लिएर उहाँलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी र स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसै महिना भारतका दक्षिणी शहर हैदरावादको एक सिनेमा हलमा अभिनेता अल्लू अर्जुनको फिल्म ‘पुष्पा २ : द रूल’ को विशेष प्रदर्शन (स्क्रिनिङ) का लागि पुग्नु भएको थियो । उहाँलाई हेर्न ठूलो भीड भेला भएको र भीड अनियन्त्रित हुँदा भाग दौड मच्चिएको र एक महिलाको मृत्यु भएको थियो । 

नाम नबताउने शर्तमा एक प्रहरी अधिकारीले एएफपीसँग कुरा गर्दै भने, “४२ वर्षीय अभिनेतालाई खतरनाक हतियार वा साधनले स्वेच्छाले चोट पु¥याउनेलगायत तीनवटा अपराधको आशङ्कामा पक्राउ गरिएको हो ।

अधिकारीका अनुसार यस घटनामा संलग्न अन्य सातजनालाई यसअघि नै पक्राउ गरिसकिएको छ ।

टेलिभिजन टिभी नाइनले सामाजिक सञ्जाल ‘एक्स’मा शेयर गरेको भिडियोमा अभिनेताले कफीको कप समातेको र उहाँलाई हिरासतमा लिन आफ्नो निवासमा पुगेका अधिकारीसँग कुरा गरिरहेको देखिएको छ ।

आफ्नो छोरासँग स्क्रिनिङमा सहभागी भएकी ३० वर्षीया एक महिलाको डिसेम्बर ४ मा भएको भागदौडमा परी मृत्यु भएको थियो । 

महिलाका परिवारले अर्जुन, उहाँको सुरक्षा टोली र सिनेमा हल व्यवस्थापनविरुद्ध उजुरी दर्ता गराएको भारतीय सञ्चारमाध्यम इन्डिया टुडेले जनाएको छ ।

अर्जुनले दुर्घटना भएको दुई दिनपछि घटनाबारे सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै घटनाबाट आफू निकै मर्माहत भएको बताउनुभएको थियो । 

उहाँले एक्समा लेख्नुभएको छ, “परिवार दुःखी हुने अवस्थालाई सम्मान गर्दै म उनीहरूलाई यो चुनौतीपूर्ण यात्राबाट फर्कन मद्दत गर्न हरसम्भव सहयोग गर्न प्रतिबद्ध छु।”

अर्जुनको दक्षिण भारतमा निकै लोकप्रिय अभिनेताका रूपमा स्थान छ र ‘पुष्प फिल्म फ्रेन्चाइज’ले बक्स अफिसमा करोडौं कमाएको छ ।

उहाँले दुई वर्षअघि रिलिज भएको सिरिजको पहिलो चरणमा नै आफ्नो शीर्ष भूमिकाका लागि भारतको राष्ट्रिय चलचित्र पुरस्कारमा सर्वश्रेष्ठ अभिनेताको पुरस्कार जित्नुभएको छ । रासस, एएफपी