• ११ पुस २०८१, बिहिबार

गोरखापत्र प्रतिष्ठान अध्यक्षमा श्रेष्ठ निर्वाचित

blog

नेपाल पत्रकार महासंघ गोरखापत्र प्रतिष्ठानको नवनिर्वाचित अध्यक्ष दिपक श्रेष्ठलाई बधाई दिनुहुँदै संस्थानका पत्रकार । तस्बिरः मनोजरत्न शाही

काठमाडौं, मङ्सिर २८ गते । नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठान शाखाको अध्यक्षमा दिपक श्रेष्ठ निर्वाचित हुनुभएको छ । श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो । बुधबार यहाँ भएको निर्वाचन कार्यक्रमअनुसार अध्यक्ष पदमा श्रेष्ठ, राधा चालिसे र सरोज ढुङ्गेलको उम्मेदवारी दर्ता भएको थियो । 

अध्यक्षका उम्मेदवारद्वय राधा चालिसे र सरोज ढुङ्गेलले अर्का अध्यक्ष पदका उम्मेदवार दीपक श्रेष्ठलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिनुभएको थियो । निर्वाचन समितिका संयोजक प्रकृति अधिकारीका अनुसार, अन्य पदाधिकारी, सदस्य तथा परिषद सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ । 

निर्वाचित हुनेमा उपाध्यक्ष देवबहादुर कुँवर (खुला), शिवामाया तामाङ (महिला), सचिवमा रमेशबहादुर थापा, सहसचिवमा प्रमोदकुमार टण्डन (खुला), अजिता रिजाल (समावेशी) र कोषाध्यक्षमा मोहनप्रसाद दाहाल निर्वाचित हुनुभएको छ । 

यसैगरी, सदस्य पदमा अर्पणा अधिकारी, इन्दिरा अर्याल, दीपा चौधरी, सविन बजगाईँ निर्वाचित हुनुभएको छ । केन्द्रीय परिषद् सदस्यद्वयमा कुमार विवेकानन्द मिश्र र सीतादेवी शर्मा निर्वाचित हुनुभएको छ । प्रदेश परिषद् सदस्यहरुमा कुलप्रसाद गौतम (केपी गौतम), मञ्जिमा ढकाल र लक्ष्मीकुमारी सापकोटा सर्वसम्मत निर्वाचित हुनुभयो । 

गोरखापत्रमा कुल मतदाता संख्या ५० मध्ये ४८ मत खसेको छ । मतदान प्रक्रिया सुरु भएपछि अध्यक्षका अर्का प्रत्यासी चालिसेले उम्मेदवारी फिर्ता लिनु भए पनि प्रक्रियाका लागि मतदान गरिएको थियो । श्रेष्ठको पक्षमा ४२ मत र ६ मत बदर भएको निर्वाचन समितिका संयोजक अधिकारीले बताउनुभयो ।