• १० माघ २०८१, बिहिबार

पत्रकार महासङ्घको निर्वाचन जारी (फोटो फिचर)

blog

नेपाल पत्रकार महासङ्घको २७ औं महाधिवेशनअन्तर्गत मतदान जारी । तस्बिर : मनोजरत्न शाही

काठमाडौं, मङ्सिर २८ गते । नेपाल पत्रकार महासङ्घको २७ औं महाधिवेशनअन्तर्गत मतदान भइरहेको छ । शुक्रबार ९ बजेदेखि जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिका लागि एकैचोटी मतदान भइरहेको हो । अपरान्ह ४ बजेसम्म मतदान गर्न पाइने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका संयोजक प्रा. चिरञ्जीवी खनालले १३९ वटा निकायमध्ये केही प्रतिष्ठानका क्षेत्रहरुलाई गाभिएर मतदान भइरहेको जानकारी दिनुभयो । तर, गोरखा जिल्लामा भने मतदान सुरु हुन नसकेको उहाँले बताउनुभयो ।

संयोजक खनालले  मतदानका लागि छलफल भइरहेको र केही समयमा मतदान सुरु हुने जानकारी दिनुभयो । पत्रकारहरु उत्साहका साथ मतदान गरिरहनुभएको छ । देशभर नौ हजारभन्दा बढी मतदाता छन् ।

केन्द्रीय अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाको उम्मेदवारी परेको छ भने वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईँ, दीपक आचार्य र रोसन पुरीले उम्मेदवारी दिनुभएको छ ।

यसैगरी, महिला उपाध्यक्षमा गङ्गा पौडेल र नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साह, महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिनुभएको छ । आज केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयन हुनेछ ।

तस्बिरहरु : मनोजरत्न शाही/केशब गुरु




Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।