• १२ पुस २०८१, शुक्रबार

अस्पतालको सेवामा सुधार

blog

तुलसीपुर समाचारदाता

तुलसीपुर, मङ्सिर २८ गते । राप्ती प्रादेशिक अस्पतालको सेवामा सुधार देखिएको छ । अस्पतालको न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गत अनुगमन मूल्याङ्कनमा गत वर्षभन्दा सेवामा सुधार देखिएको छ । अनुगमन मूल्याङ्कन विवरण सार्वजनिक गर्दै भेरी अस्पतालका नर्सिङ निर्देशक दुर्गालक्ष्मी श्रेष्ठले यस वर्ष सेवा सुधार गरेर गत वर्षभन्दा बढी अङ्क प्राप्त गरेको बताउनुभयो । गत वर्ष ८५ प्रतिशत रहेको थियो भने यस वर्ष ८८ प्रतिशत रहेको छ । अनुगमनमा खटिएका निर्देशक श्रेष्ठले अस्पतालमा मनोरोग, छालारोग, शल्यक्रिया, डायलासिस, टोकन प्रणालीका अतिरिक्त सेवा प्रदान गर्नु सकारात्मक सूचक रहेको बताउनुभयो । 

उहाँले अस्पतालमा फार्मेसीमा काउन्सिलिङको व्यवस्था, कुरुवाघर, शववाहन, एम्बुलेन्स, बायोमेटिक टेक्निसियनको व्यवस्था गरी सेवामा थप सुधार गर्न सकिने बताउनुभयो । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पदमराज अधिकारीले ७४ जना दरबन्दी व्यवस्था भए पनि ६४ जना मात्रै कार्यरत रहेको बताउनुभयो । उहाँले अस्पतालमा विकास समिति, विभिन्न कार्यक्रमबाट २१५ जना कार्यरत रहेको बताउनुभयो । सङ्घीय सरकारमातहतमा रहेकै बखत ५० शय्या रहेको अस्पताल प्रदेश अन्तर्गत सञ्चालनमा आउँदासमेत ५० शय्या मात्र रहेको बताउनुभयो । 

उहाँले अस्पतालबाट विभिन्न स्रोत र जनशक्ति परिचालन गरी  १४१ बेडकै सेवा प्रदान गरिएको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख एवं अस्पताल विकास समितिका सदस्य टीकाराम खड्काले राप्ती प्रादेशिक अस्पतालले लुम्बिनी र कर्णाली प्रदेशका नागरिकको प्रत्यक्ष सेवा पहुँचमा रहेको अस्पतालको विकासका लागि स्थानीय सरकारबाट समेत सहयोग हुँदै आएको बताउनुभयो ।