• १२ पुस २०८१, शुक्रबार

गर्भवतीलाई भिडियो एक्सरे सेवा

blog

तम्घास समाचारदाता

तम्घास, मङ्सिर २८ गते । ग्रामीणस्तरका गर्भवती महिलालाई विशेषज्ञ डाक्टरबाट भिडियो एक्सरे गराउन सदरमुकाम तम्घास आउन समय र पैसा दुवै खर्च हुन्थ्यो । जिल्लाको भौगोलिक रूपमा विकट मानिने मालिका गाउँपालिकाले सोही समस्यालाई ध्यानमा राख्दै विशेषज्ञ डाक्टरबाट गाउँमै शिविरमार्फत भिडियो एक्सरे सेवा प्रदान गरेको छ । 

१२ देखि २६ हप्ताका गर्भवती महिलालाई लक्षित गरी गाउँपालिकाले एनोमल्ली स्क्यान अर्थात् बच्चाको असामान्य अवस्थाबारे भिडियो एक्सरे सेवा प्रवाह गरेको स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकाले आफ्नै जनशक्तिबाट वडाका सबै स्वास्थ्य संस्थाबाट गर्भवती महिलालाई भिडियो एक्सरे सुविधा प्रवाह गरिरहे पनि विशेषज्ञ डाक्टरबाट पहिलो पटक गर्भवती महिलालाई सेवा उपलब्ध गराएको हो  । आर्थिक अभावसँगै चेतनाको कमी र स्वास्थ्य संस्थासँग नागरिकको पहुँच नहुँदा गाउँमै शिविरको आयोजना गरी सेवा उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ । 

एनोमल्ली स्क्यानले बच्चाको सम्पूर्ण स्वास्थ्य अवस्था बुझ्न सक्ने गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख वसन्तराज भुसालले जानकारी दिनुभयो । गाउँमै विशेषज्ञ डाक्टरबाट सेवा सुविधा पाउँदा खुसी लागेको स्थानीय नोमिता खत्रीले बताउनुभयो ।  

यस्तै कार्यलाई निरन्तरता दिनका लागि मनीषा अर्यालले आग्रह गर्नुभयो । गाउँमै विशेषज्ञ डाक्टरबाट सेवा पाउँदा बच्चाको अवस्था थाहा पाउन सकिएकोमा गर्भवती महिला खुसी छन् । गाउँपालिकाका ५५ जना गर्भवती महिलाले सो सेवा लिए भने एक जनाको अवस्था असामान्य देखिएपछि अन्यत्र रेफर गरिएको भुसालले बताउनुभयो ।