• १२ पुस २०८१, शुक्रबार

चक्रपथमा आकासे पुलको निर्माण अलपत्र

blog

गोरखापत्र समाचारदाता

ललितपुर, मङ्सिर २८ गते । चक्रपथको कलङ्की–कोटेश्वर खण्डमा प्रस्तावित तीन वटा आकासे पुलको निर्माण कार्य अलपत्र छ । निर्माणका लागि ठेक्का सम्झौता भएको सात वर्ष बित्न लाग्दा पनि अहिलेसम्म आधा पनि काम भएको छैन । चक्रपथमा प्रस्तावित बल्खु, महालक्ष्मीस्थान र सानेपामा निर्माण गर्नुपर्ने आकासे पुलको काम अलपत्र परेको हो ।

सम्झौता अनुसार निर्धारित समयमा काम सम्पन्न नगर्दा ठेकेदार कम्पनीलाई जरिबाना तिराउनुको सट्टा सम्बन्धित निकायले त्यसको म्याद थप्दै आएको पाइएको छ । तीन पटक थप गरिएको म्याद पूरा भए पनि पुलको आधा काम सम्पन्न हुन सकेको छैन । बल्खुमा आकासे पुल निर्माणका लागि त्रिवि परीक्षा नियन्त्रण कार्यालयअगाडि जग खनिएको चार वर्षपछि एकातिरको पिलर खडा गरी ¥याम्प निर्माण गरिएको छ । अर्कोतिरको पिलर  तथा ¥याम्प निर्माणलगायतका थप काम अगाडि बढ्न सकेको छैन । त्यसै गरी ललितपुरको सानेपा र महालक्ष्मीस्थानमा समेत पुलको खम्बा र ¥याम्प निर्माणबाहेकको काम अगाडि बढ्न सकेको छैन ।

आकासे पुल निर्माणका लागि ठेक्का सम्झौता भएको सात वर्ष बिते पनि काम पूरा हुन नसकेको हो । पुल निर्माणका लागि थप गरिएको म्याद पनि बितिसकेको छ ।

चक्रपथ सुधार आयोजनाका प्रमुख कृष्णनाथ ओझाका अनुसार यी तीन वटै आकासे पुलको ठेक्का सम्झौता भएसँगै निर्माण कम्पनीले ‘साइट मोबलाइजेसन’ स्वरूप कुल निर्माण लागतको २० प्रतिशत रकम पुल महाशाखाबाट बुझिसकेको छ । उहाँले समयमा भुक्तानी नपाउँदा निर्धारित अवधिमा पुल निर्माण अगाडि बढ्न नसकेको बताउनुभयो ।

यसअघि चीन सरकारले कोटेश्वर, ग्वार्को, सातदोबाटो र बागडोलमा सम्झौता अनुसारको आकासे पुल निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । आमनागरिकले सुरक्षित र सहज रूपमा चक्रपथको वारपार गर्न पाओस् भन्ने उद्देश्यसति प्रत्येक एक/एक किलोमिटरमा आकासे पुल निर्माण गर्ने योजनासहित सो आकासे पुल निर्माण सुरु गरिएको हो । आठ लेन चौडाइको सो सडकमा सवारीसाधनको गति उच्च हुने भएकाले पैदल यात्रुका लागि थप आकासे पुलको आवश्यकता भएको भन्दै विभागले थप स्थानमा आकासे पुल निर्माण अघि बढाएको हो । 

चीन सरकारले चक्रपथको सो खण्ड विस्तार गरी नेपाललाई हस्तान्तरण गरेको दुई वर्षपछि आकासे पुल निर्माण सुरु गरिएको हो । चीनले २०७५ माघ १४ गते चक्रपथको कोटेश्वर–कलङ्की खण्ड हस्तान्तरण गरेको थियो ।

यसैबिच काठमाडौँ महानगरपालिकाले कोटेश्वर, बबरमहल, पुतलीसडक, पद्मोदय मोड, बागबजार, कालीमाटी चोक, रविभवन, त्रिवि शिक्षण अस्पतालअगाडि (महारागन्ज), गङ्गालाल अस्पताल (बाँसबारी) अगाडि अकासे पुल निर्माण गर्ने योजना आर्थिक वर्ष २०८१/८२ मा समावेश गरे पनि त्यसको काम अहिलेसम्म अगाडि बढ्न सकेको छैन । बजेटमा प्रतिपुल एक करोड रुपियाँ रकमसमेत विनियोजन गरिएको थियो ।