• १२ पुस २०८१, शुक्रबार

जलवायु न्यायका पक्षमा सहयोगको अपिल

blog

परराष्ट्रमन्त्री डा. आरजु राणा र युरोपियन युनियनका कमिसनर फर क्लाइमेट एक्सन ओपके होस्त्राबिच बिहीबार भएको भेटवार्ता । तस्बिर : परराष्ट्रमन्त्रीको सचिवालय

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २८ गते । परराष्ट्रमन्त्री डा. आरजु राणासँग युरोपियन युनियनका कमिसनर फर क्लाइमेट एक्सन ओपके होस्त्राले भेटवार्ता गर्नुभएको छ । बेल्जियमको ब्रसेल्समा बिहीबार भएको सो भेटका अवसरमा नेपाल–इयु सम्बन्ध, नेपालको आर्थिक सामाजिक क्षेत्रमा युरोपियन युनियनले पुर्‍याउँदै आएको सहयोग र आगामी दिनमा निरन्तर रहने साझेदारीका बारेमा कुराकानी भएको मन्त्री राणाको सचिवालयले जनाएको छ । 

नेपाल र युरोपियन युनियनले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वर्ष मनाइरहेको बारेमा उहाँहरूबिच कुराकानी भएको थियो । नेपाल र युरोपियन युनियनबिच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । 

नेपाल सदैव प्रजातन्त्र, कानुनी शासन र मानव अधिकारका पक्षमा रहेको जानकारी गराउँदै डा. राणाले यस क्षेत्रमा युरोपियन युनियनले नेपाललाई प्रदान गर्दै आएको सहयोगको सराहना गर्नुभयो । युरोपियन युनियन नेपालको एक महत्वपूर्ण विकास साझेदार रहेको स्मरण गर्दै मन्त्री डा. राणाले नेपालको आर्थिक सामाजिक क्षेत्रमा युनियनले पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद पनि ज्ञापन गर्नुभयो । 

त्यस अवसरमा परराष्ट्रमन्त्री डा. राणाले नेपालका तर्फबाट आफूले केही दिनअघि मात्र हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र जलवायु न्यायका बारेमा कुरा उठाएको जानकारी पनि उहाँलाई गराउनुभएको थियो । 

मन्त्री डा. राणाले कमिसनर ओपकेलाई नेपालमा परेको जलवायु परिवर्तनको असर तथा पछिल्ला वर्षमा यसबाट नेपालले बेहोर्नु परिरहेको अकल्पनीय क्षतिबारे जानकारी गराउँदै नेपालले पाउनुपर्ने जलवायु न्यायका पक्षमा युरोपियन युनियनसँग सहयोगको अपिल पनि गर्नुभएको थियो । युरोपेली आकाशमा नेपाली वायु सेवालाई लगाइएको प्रतिबन्ध (सेफ्टी लिस्ट) सम्बन्धी प्रावधान हटाउने विषयमा पहल गर्न पनि कमिसनर ओपकेलाई मन्त्री डा. राणाले आग्रह गर्नुभएको थियो । यसका कारण नेपालबाट सीधा उडान हुन नसक्दा नेपाली नागरिकलाई युरोप आवातजावतमा समस्या पर्न गएकोप्रति उहाँले युरोपियन युनियनको ध्यानाकर्षण गराउनुभएको थियो ।