• २७ मंसिर २०८१, बिहिबार

बाँकेको गाभर रैथाने धान उत्पादनको पकेट क्षेत्र बन्दै

blog

गाभर भ्यालीमा संरक्षणका लागि लगाइएको रैथाने जातको धान । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, मङ्सिर २७ गते । बाँकेको गाभर भ्याली पछिल्लो समयमा आएर रैथाने उत्पादनको महत्वपूर्ण पकेट क्षेत्र बन्दै गएको छ । स्थानीय र प्रदेश सरकारले रैथाने प्रजातिका अन्नबालीहरूको संरक्षणमा जोड दिँदै नीति तथा कार्यक्रम ल्याएपछि यो क्षेत्रमा रैथाने उत्पादनमा विशेष ध्यान दिइएको हो । 

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमै रैथाने प्रजातिका अन्नबाली संरक्षण कार्यक्रम समावेश गरेकोले बाँके जिल्लाको गाभर भ्यालीमा रैथाने धान उत्पादन सुरु गरिएको छ ।

यो क्षेत्रमा पाइने घैया, गर्भे र अनदी धानहरू लोप हुने अवस्थामा पुगेपछि बैजनाथ १ गाभर भ्यालीमा अहिले लोपोन्मुख धानका प्रजातिहरूलाई संरक्षण गर्ने अभियान सुरु भएको गाभर भ्याली सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कृष्ण चौधरीले बताउनुभयो । उहाँले आफू स्वयंले पनि चार कठ्ठामा घैया धान, १० कठ्ठामा अनदी धान र १ कठ्ठामा गर्भे धानको बिउ उत्पादनको लागि लगाएको बताउनुभयो । गाभर क्षेत्रमा एक बिघाभन्दा बढी क्षेत्रफलमा अहिले यी रैथाने धान लगाइएको छ । यी धानहरू संरक्षण गरेर यस क्षेत्रको ऐतिहासिक र सांस्कृतिक महत्व झल्काउन खोजिएको अध्यक्ष चौधरीको भनाइ छ ।

गाभर भ्यालीमा आउने पर्यटकहरू रैथाने उत्पादन अवलोकन गर्न पनि आउने गरेको उहाँले बताउनुभयो । चौधरीका अनुसार गाभर भ्यालीले रैथाने बालीहरूको संरक्षणमा महत्वपूर्ण भूमिका खेलिरहेको छ ।

रैथाने जातका धानहरूमा मल र पानीको आवश्यकता न्यून हुने भएकाले यी बालीहरू संरक्षण गर्न तुलनात्मक रूपमा सजिलो छ । हाइब्रिड धानहरूमा जस्तै धेरै मल र सिँचाइको आवश्यकता नभए पनि रैथाने प्रजातिका धान स्वस्थ र उत्पादनशील हुने गर्छन् । विशेष गरी तिल्की, अनदी र घैया जस्ता धानमा रासायनिक मलको प्रयोग गर्दा बढी गँजाएर नफल्ने समस्या देखापरेको छ ।

गाभर क्षेत्रमा १ बिघाभन्दा बढी क्षेत्रफलमा यस्ता धानको खेती भइरहेको छ । जसमा घैया र तिल्की धान बिउ उत्पादनको लागि लगाइएको छ । भविष्यमा यी रैथाने धानहरूको व्यावसायिक उत्पादन गर्ने योजना रहेको चौधरीले बताउनुभयो ।

तिल्की धानको चामल विशेषतः पर्वहरूमा र अतिथि सत्कारका लागि प्रयोग हुने गरेको छ भने अनदी चामल थारु समुदायमा निकै लोकप्रिय छ । घैया धानको चामल स्वास्थ्यका दृष्टिले महत्वपूर्ण मानिन्छ र यसलाई विभिन्न स्वास्थ्यसम्बन्धी समस्याहरूको समाधानको रूपमा पनि हेरिन्छ । 

गाभर भ्यालीमा उत्पादित यी धानहरूलाई संरक्षण गर्ने मात्र नभई व्यावसायिक उत्पादन र बजारीकरणमा पनि ध्यान दिइएको जनाइएको छ ।