• २७ मंसिर २०८१, बिहिबार

म्याग्दीमा भेटियो दुर्लभ रेड पान्डा

blog

म्याग्दी समाचारदाता 

म्याग्दी, मङ्सिर २७ गते । हिमाली जिल्ला म्याग्दीको धवलागिरि गाउँपालिका–३, मुनाको बन्चरेडाँडा क्षेत्रमा विश्वमै दुर्लभ वन्यजन्तु रेड पान्डा (हाब्रे) भेटिएको छ । म्याग्दी जिल्लाको धार्मिक पर्यटकीय स्थल मालिका धुरीबाट फर्किने क्रममा धवलागिरि गाउँपालिकाका कर्मचारी तेजिन्द्र मगरले रेड पान्डाको तस्बिर र भिडियो खिच्नुभएको हो । समुद्री सतहदेखि तीन हजार एक सय मिटर उचाइमा पर्ने उक्त क्षेत्रमा रेड पान्डा बच्चा जस्तै देखिएको मगरको भनाइ छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनसहितको टोली उक्त क्षेत्र हुँदै फर्कने क्रममा रेड पान्डा भेटिएपछि थप संरक्षणका लागि आसपासका स्थानीयलाई जानकारी गराइएको बताउनुभयो । 

अध्यक्ष पुनले भन्नुभयो, “धवलागिरि गाउँपालिकाको अन्य क्षेत्रमा पनि यसअघि रेड पान्डा भेटिएको बताइएको छ । यसलाई चोरीसिकारबाट जोगाउन समुदायस्तरबाटै अभियान सञ्चालनको योजना बनाउँछौँ ।” लजालु स्वभावको विश्वमै दुर्लभ जङ्गली जनावर रेड पान्डाले पैदल यात्रामा रहेका सर्वसाधारणलाई देखेर रमाइरहेको जस्तो देखिएको उहाँले बताउनुभयो । 

म्याग्दीको धवलागिरि गाउँपालिका–१ र गुर्जा–२, लुलाङमा पनि भेटिएको रेड पान्डाको वडा नं. ४ मुदीमा समेत वासस्थान भेटिएको थियो । अनुसन्धानकर्ता बद्री पाण्डेका अनुसार मरेनी सामुदायिक वन, ढोरपाटन सिकार आरक्षको जलजला, गुर्जा र मुदीको जङ्गलमा हलुका रातो, सेतो र कालो रङको रेड पान्डाको वासस्थान रहेको पुष्टि भएको थियो । यो अध्ययन अनुसन्धान भएको दशकभन्दा बढी समय भए पनि समुदायस्तरबाट संरक्षणका लागि ठोस कार्यक्रम सञ्चालन हुन नसक्दा रेड पान्डाको यथार्थ स्थिति पत्ता लाग्न अझै सकेको छैन । 

यो जनावर लजालु हुने भएकाले सिकारीलाई सिकार गर्न सहज हुन्छ । त्यसैले रेड पान्डाको महत्वबारे समुदायस्तरमै जानकारी गराउन डिभिजन वन कार्यालय र स्थानीय गाउँपालिकाले अझै मेहनत गर्नुपर्ने देखिएको छ । 

धवलागिरि गाउँपालिकाभित्र फरक फरक ठाउँमा भेटिएकाले रेड पान्डाको गणना हालसम्म हुन सकेको छैन । रेड पान्डा जोगाउन वडास्तरमा संरक्षण समिति गठन, जनचेतनामूलक कार्यक्रम, वासस्थान आसपासका क्षेत्रमा आवतजावतमा समेत निगरानी आवश्यक रहेको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ ।