• १२ पुस २०८१, शुक्रबार

७० वर्षीय मुखिया हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गर्दै

blog

कञ्चनपुर, मङ्सिर  २७ गते । कृष्णपुर नगरपालिका–२ वनहराका ७० वर्षीय मुखिया राना एकाबिहानै साइकल चढेर बजार र गाउँ पुगेर फलामका औजारमा धार (सान) लगाउने कार्य गर्नुहुन्छ । चालिस किलोमिटर साइकल चढेर दैनिकजसो गाउँ, सहरबजार पुगेर यस्तो काम गर्नु उहाँको दिनचर्या नै हो । 

यही कामबाट आफ्नो घरखर्च सहज रूपमा चल्दै आएको उहाँले बताउनुभयो । साइकलको डण्डीमा जडान गरिएको सान (धार०) लगाउने पत्थरमा चक्कु, खुकुरी, चुलेसी, कैँची, बञ्चरो, तरवारलाई घोटेर उहाँले धारिलो बनाउनुहुन्छ । तरकारी, मासु, काठ काट्ने फलामका औजारमा धार लगायवापत रानाले दैनिक करिब रु. एक हजार जति आम्दानी हुने गरेको सुनाउनुभयो ।  

“बिहानको नास्ता गरेर घरबाट निस्किन्छु । साँझ अबेर मात्रै घर फर्कने गरेको छु, दिउँसोको खाना बजार क्षेत्रमै खाने गर्छु”, उहाँले भन्नुभयो । रानाले कहिलेकाहीं धनगढीदेखि महेन्द्रनगर बजारसम्म पुगेर यस्तो कार्य गर्ने गरेको बताउनुभयो । 

खाना खर्च कटाएर दैनिक रु. सात सय जति बचत हुने गरेको उहाँ बताउनुहुन्छ । सान लगाउने कार्य रानाले २० वर्षकै उमेरदेखि गर्दै आउनुभएको हो । पहिले रानाले भारतमा यही काम गरेर घर खर्च चलाउने गरेको बताउनुभयो । स्वदेश फर्केर विवाह गरेपछि यसै कार्यलाई निरन्तरता दिएको र यसैबाट आउने आम्दानीबाट पाँच छोराछोरीको लालनपालन गरिरहेको रानाको भनाइ छ । “घरखर्च यसैबाट आएको कमाइले धानिँदै आएको छ । मुक्तकमैया पुनःस्थापना कार्यक्रम अन्तर्गत पाइएको घरबासको जग्गा मात्रै छ । अन्न, लुगाफाटो, औषधोपचार यसबाटै आएको कमाइले गरिरहेको छु”, उहाँले भन्नुभयो,“पछिल्लो समय त छोराले ज्यालामजदुरी गरेर सघाइरहेका छन् । हामी सबैको आम्दानी घर खर्चमै सकिन्छ ।” 

विसं २०५८ सालमा श्रीमतीको देहावसान भएपछि आमाको भूमिकासहित आफैंले एकल अभिभावकत्व निर्वाह गर्नुपरेको रानाले बताउनुभयो । “कमाइ गर्ने माध्यम थिएन, पर्याप्त अन्न फल्ने खेत पनि छैन, पहिलेदेखि नै सिकेको सीप भएकाले यसैलाई निरन्तरता दिँदै आएको छु”, उहाँ भन्नुहुन्छ,“अहिले छोरा पनि कमाउने भएकाले केही सहज भएको छ । बुढेसकाल लागे पनि पहिलेदेखि नै काम गरिरहेकाले ग्राहकले पनि रुचाउने गरेका छन् । हतियारमा धार लगाएपछि पैसा दिन कसैले पनि कन्जुस्याइँ गर्दैनन् । बरु बुढेसकालमा पनि मेहनत गरेर खाने बड्डा भनेर थपेरै दिन्छन् ।” 

रानाले चक्कु, हँसिया, चुलेंसीलगायतमा धार लगाएवापत रु. २०, खुकुरी, बञ्चरोमा धार लगाएवापत रु. ५० र तरबारको रु. एक सय रुपियाँ ज्याला  लिने गर्नुभएको छ । पहिला महिनाको रु. ३० हजारसम्म पनि कमाइ हुने गरे पनि साइकल टाढासम्म चलाउन नसक्ने भएकाले रु. १५ हजारदेखि २० हजारसम्म कमाइ हुने गरेको उहाँले जानकारी दिनुभयो । “बसेरभन्दा गरेर खाँदाको आनन्द बेग्लै हुन्छ । छोरा बुहारीसँग हात फैलाएर माग्नुपरेको छैन, बरु उनीहरूलाई सहयोग गर्छु”, रानाले खुसी हुँदै भन्नुभयो ।