• ५ असार २०८२, बिहिबार

अन्नपूर्ण फेरोका सत्ताइस गाउँमा घरबास

blog

गण्डकी, मङ्सिर २७ गते । पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण फेरोका २७ गाउँमा घरबास (होमस्टे) व्यवसाय सञ्चालनमा छ । बर्सेनि ठुलो सङ्ख्यामा देशविदेशका पर्यटकलाई ती घरबासले न्यानो आतिथ्यता प्रदान गर्दै आएका छन् । चित्रमय भूगोल, गाउँले रहनसहन, रैथाने खाना र आत्मीय आतिथ्य संस्कार घरबासका विशेषता हुन् ।  

अन्नपूर्ण संरक्षण क्षेत्र (आयोजना–एक्याप) का अनुसार उक्त क्षेत्रका चार सयभन्दा बढी घरले घरबास सेवा दिइरहेका छन् । कतिपय घरबास एकल रूपमा पनि चलिरहेका छन् । 

दैनिक झन्डै दुई हजारभन्दा बढी पाहुना राख्न सक्ने क्षमता ती घरबासमा रहेको आयोजना प्रमुख डा. रविन कडरियाले जानकारी दिनुभयो । उहाँका अनुसार ‘एक्याप’ को इलाका संरक्षण कार्यालय ल्वाङ (कास्की) अन्तर्गत ल्वाङगाउँका १२ घर, घलेका सात घर, टुसेका २७ घर, मिर्साका १६ घर, काभ्रेका १२ घर र कोलेली गाउँका छ घरमा घरबास सेवा सञ्चालित छन् । 

इलाका संरक्षण कार्यालय, सिक्लेस अन्तर्गत सिक्लेसगाउँका २४, ताङ्तिङमा १४, याङ्जाकोटमा १० र वार्र्चोकका ११ घरले उक्त सेवा दिइरहेका छन् । इलाका संरक्षण कार्यालय, घान्द्रुक अन्तर्गत साबेतमा १०, नारच्याङमा १५, खिवाङमा छ, इलाका संरक्षण कार्यालय, भुजुङ अन्तर्गत घलेगाउँका ४३, घनपोखराका नौ, भुजुङका २८, सिउरुङका १९, पसगाउँका २२ र छापामिप्रामा १२ घरबास छन् । 

यस्तै इलाका संरक्षण कार्यालय, मनाङ अन्तर्गत ओडारमा १५, थानचोकमा १४, ताचैमा २६, इलाका संरक्षण कार्यालय, जोमसोमभित्र ठिनीमा ११ र लुब्रा गाउँका आठ घरबासले पर्यटकलाई सेवा दिँदै आएका छन् । इलाको संरक्षण कार्यालय, ल्होमन्थाङ अन्तर्गत पर्ने मराङका पाँच, छोसेरका पाँच र जुङजुङका छ घरमा उक्त सेवा सञ्चालनमा छ । 

अन्नपूर्ण संरक्षण क्षेत्रभित्र सञ्चालनमा रहेका घरबासलाई व्यवस्थापन तालिमलगायत विभिन्न सहयोग प्रदान गर्दै आएको आयोजना प्रमुख डा. कडरियाले बताउनुभयो । उहाँका अनुसार घरबास सञ्चालनमा आएपछि स्थानीय उत्पादनको प्रवर्धनदेखि रोजगारी सिर्जनामा पनि मद्दत पुगेको छ । पर्यटकीय राजधानी पोखरादेखि छोटो र लामो दुरीमा गन्तव्यमा अवस्थित घरबास गाउँ विशेष गरी आन्तरिक पर्यटकको बढी रोजाइमा पर्ने गरेका छन् । 

कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ स्थित ल्वाङ सामुदायिक घरबास व्यवस्थापन समितिका अध्यक्ष मञ्जु गुरुङले एकै रातमा चार सयसम्म पाहुना राख्ने क्षमता ल्वाङगाउँका घरबासमा रहेको जानकारी दिनुभयो । “यहाँ मुख्य गरी आउने भनेको आन्तरिक पर्यटक नै हो, कोभिड–१९ महामारीपछि विदेशी पाहुनको सङ्ख्या केही घटेको छ । पोखरादेखि नजिक भएकाले पनि आउजाउ सहज छ, घुमफिरका लागि जुनसुकै मौसममा ल्वाङगाउँ उपयुक्त छ,” उहाँले भन्नुभयो ।

गुजुमुज्ज परेको गुरुङ बस्तीले ल्वाङको आकर्षण थपेको छ । ल्वाङमा सेतो र गेरु रङ पोतिएका एकनासे घर छन् । घरको छाना, आँगन र बाटोमा पनि ढुङ्गा बिछ्याइएको छ । परम्परागत घरले पहाडी वास्तुकलाको झल्को दिन्छन् । विसं २०६७ मा घरबास सञ्चालनमा आएपछि ल्वाङ ग्रामीण पर्यटनमा फड्को मारेको घरबास व्यवस्थापन समितिका अध्यक्ष गुरुङले बताउनुभयो । 

समुद्री सतहदेखि १४ सय मिटरको उचाइमा अवस्थित यो गाउँबाट माछापुच्छ्रे, अन्नपूर्णलगायत हिमाली चुचुरोमा देखिने सूर्योदयको दृश्य लोभलाग्दो हुन्छ । गुरुङ संस्कृतिको अध्ययन, अनुसन्धानका लागि देशीविदेशी अध्येतासमेत ल्वाङगाउँ पुग्ने गरेका छन् । 

स्थानीयले पाहुनालाई गुरुङ संस्कृति र संस्कार देखाउने गरेका छन् । रैथाने खाना चखाउने, करेसाबारीमा लगेर खेती गर्ने तरिका सिकाउने, भान्साको परिकार बनाउने विधि पनि सिकाउने गरिन्छ । निगालोबाट बन्ने डोको, सेखु जस्ता घरेलु उत्पादनका सामग्री पनि पर्यटकलाई चिनाउने गरिएको छ । 

घरबासको भान्सामा गाउँमै उत्पादन हुने अन्न र तरकारी बालीको प्रयोग गर्ने गरिएको छ । ल्वाङगाउँमा पर्यटकले एकदेखि दुई रातसम्म बिताउने गरेका छन् । अन्नपूर्ण आधार शिविर र मर्दी पदयात्रामा जानेहरू पनि ल्वाङगाउँमा विश्राम गरेर बाटो लाग्छन् । चलचित्रको छायाङ्कनका लागि पनि ल्वाङगाउँ रोजाइमा पर्ने गरेको छ । ‘प्रसाद–२’, ‘दुई नम्बरी’ लगायतका चलचित्रको छायाङ्कन यही गाउँमा भएको थियो ।

गाउँको सिरानमा रहेको चियाबारी त्यहाँको अर्को पर्यटकीय आकर्षण हो । एक हजार दुई सय रोपनीमा फैलिएको चियाबारीले इलामको झल्को दिन्छ । चियाबारीको अवलोकनका लागि पनि पर्यटक त्यहाँ पुग्छन् । ल्वाङगाउँको चिया युरोपसम्म निर्यात हुँदै आएको छ । ल्वाङ जस्तै यहाँका अन्य घरबास गाउँ पनि आफ्नै विशेषतासहित आन्तरिक तथा बाह्य पर्यटकमाझ चिनिएका छन् । घरबास सँगसँगै ती क्षेत्रमा होटेल व्यवसाय पनि फस्टाएको छ । सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको ‘एक्याप’ मा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् । अन्नपूर्ण चक्रीय पदमार्ग पदयात्रामा गत आर्थिक वर्ष २०८०/८१ मा मात्र दुई लाख २२ हजार १८० विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए ।