• १२ पुस २०८१, शुक्रबार

जनसङ्ख्या नीतिले देश निर्माणको आधार निर्माण गर्छ : मन्त्री पौडेल

blog

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल । फाइल तस्बिर ।

काठमाडाैँ, मङ्सिर २६ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सबै कुरा समेटिएको जनसङ्ख्या नीति आवश्यक रहेको बताउनुभएको छ ।

बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनसङ्ख्या नीतिले नै देश निर्माणको आधार निर्माण गर्ने भएकाले जनसङ्ख्या नीतिमा सबै कुरा समेटिन आवश्यक रहेको उल्लेख गर्नुभयो । 

उहाँले जनसङ्ख्या नीति बनाउने कुरा सरकारले प्राथमिकतामा राख्न नसकेको बताउनुभयो । सरकारले जनसङ्ख्या नीति बनाउने हो भने प्राथमिकतामा राख्नुपर्छ, उहाँले भन्नुभयो, जनसङ्ख्याको राष्ट्रिय नीति बनाउन विश्वविद्यालयमा रहेका जनसङ्ख्या विभागहरूले विशेष पहल गर्नुपर्छ । 

उहाँले जनसङ्ख्या मन्त्रालयले नीति मात्रै बनाउने हो र कार्यान्वयन गर्ने अर्को निकाय बनाउने भए सुरुवातमै स्पष्ट हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, "सम्पूर्ण कुरा समेटिएको जनसङ्ख्या नीति ल्याउन जरुरी छ । जनसङ्ख्या नीतिले नै देश निर्माणको आधार निर्माण गर्नसक्छ । जसरी राज्यले यो विषयमा प्राथमिकता दिनुपर्ने हो, त्यो राख्न सकेको छैन । यो निष्कर्षमा पुगौँ । प्राथमिकतामा राख्ने हो भने मेकानिजम बनाऊ पहिले ।"

यसरी मेकानिजम बनाउँदा यो हेर्ने कसले हो ? देशभरको जनसंख्यासम्बन्धी नीति बनाउने कसले हो ? स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हो ? त्यो हो भने त्यसअनुसारको मेकानिजम निर्माण गर्ने गरी राज्यले छुटाउनुपर्छ । नीति बनाउने र कार्यान्वयन गर्ने फरक फरक निकाय हो भने त्यही भनौँ । नीति बनाउने काम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको हो, कार्यान्वयन गर्ने अरू मेकानिजम हो भनौँ । त्यो कुरामा स्पष्ट हुनुपर्छ । छलफल मात्रै गरेर नीति बनाउनका लागि त्यस्तै कार्यान्वयन गर्ने गरी मेकानिजम आवश्यक पर्दैन," उहाँले भन्नुभयो । 

यसै गरी, मन्त्री पौडेलले स्वास्थ्य सुविधा सहज र सर्वसुलभ ढङ्गबाट उपलब्ध हुनुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्यलाई सर्वसुलभ, सहज बनाउनका लागि स्वास्थ्य बिमा ५ लाख पुर्‍याउनुपर्ने र व्यवस्थित गर्नुपर्ने समेत उल्लेख गर्नुभएको छ ।