यतिबेला पछिल्लो शासन सत्ता पल्टेका देशहरूमा सिरिया पनि सामेल भएको छ । त्यहाँका विद्रोहीहरू ५० वर्ष अर्थात् पाँच दशक लामो असदको शासन सत्तालाई उखेलिदिएका छन् । त्यो शासन सत्ताको अन्त्य गर्नका लागि सङ्कल्पबद्ध रहेको मानिने विद्रोही समूह हयात तहरिर अल शाम (एचटिआई) ले दुई सातादेखि असदको सत्ता पल्टाउने यो अभियानलाई निकै तीव्रता दिएको देखिन्थ्यो । त्यस क्रममा त्यो विद्रोही समूहले अलेप्पो, हमा, होम्स र दारा भनिने प्रमुख सिरियाली सहरहरूमा कब्जा जमाएपछि बसर अल असदको शासन सत्ता पल्टिने दिन गन्ती सुरु भएको अड्कल गरिँदै थियो । गएको आइतबार अर्थात् ८ डिसेम्बरका दिन राजधानी दमिस्कमाथि कब्जा जमाएपछि अब असद वंशको शासन अन्त्य निश्चित प्रायः भएको अड्कल गरिँदै थियो ।
यो सत्ता पल्टाउँदा असद सिरियाबाट अज्ञात देशमा भागिसकेका छन् तर यो आलेख तयार पार्दासम्म यकिनतः उनी कहाँ शरण लिन पुगे भन्ने कुरा केवल अनुमान मात्र गरिँदै थियो । भनिन्छ असद आफ्नो परिवारका साथ विमानबाट कुनै अज्ञात मुलुकमा पुगेका छन् । उनी कुन देशमा पुगेका छन्, कसैले किटान गरेर बताएको छैन । यस क्रममा उनी चढेको विमान बेपत्ता भएको या दुर्घटनामा परेको समेत हल्ला फैलिएको छ । यता सत्ता कब्जा गरेका विद्रोहीहरूले भने अब सिरिया एउटा स्वतन्त्र देश भएको भनिरहेका छन् । असदका विरुद्ध रहेका विद्रोही सेनाका एक जना सैनिक अपरेसन कमान्डरले टेलिग्राममा एउटा पोस्ट लेखेका छन् कि ‘हामी तानाशाह बसर अल असदबाट दमिस्क सहर मुक्त भएको घोषणा गर्दछौँ । विश्वभर विस्थापित भएर रहेका सबै सिरियाली मानिसको आगमनका लागि सिरियाले प्रतीक्षा गरिरहेको छ ।’
सिरियाका प्रधानमन्त्री मोहम्मद गाजी अल–जलालीले पनि आइतबार बिहानै पहिले नै तयार गरिएको एउटा सन्देशमा भनेका थिए कि सरकार मानिसहरूबाट चुनिएको कुनै पनि नेतृत्वसँग सहयोग गर्नका लागि तयार छ । उनले सिरियाली मानिसहरूलाई सार्वजनिक सम्पत्तिहरूको नोक्सानी नगर्न अपिल गर्दै भनेका छन्, “म यहाँ आफ्नै घरमा छु, कतै गएको छुइनँ, न त यसलाई छोड्ने इरादा नै छ ।” उनको यस बयानबाट स्पष्ट हुन्छ कि प्रधानमन्त्री विद्रोहीहरूको सर्त मान्न र उनीहरूलाई सत्ता सुम्पिन तयार छन् । अर्कोतिर विद्रोही समूह एचटीआईका नेता अबु मोहम्मद अल–जुलानीले पनि विद्रोही शक्तिसँग राज्यका संस्थानहरूलाई नोक्सान नगर्न आह्वान गरेका छन् । यद्यपि दमिस्कका सडकमा जुन प्रकारले ट्याङ्कहरू र बन्दुकसहित विद्रोही शक्ति देखिएको छ, त्यसले अहिले भर्खरै स्थिति सामान्य भइहाल्ने परिस्थिति देखिँदैन भन्ने विश्लेषण पनि भइरहेको छ ।
सन् २०११ को ‘अरब वसन्त’ मा धेरै देशमा सत्ता पल्टाएको देखिएको थियो । तीन/चार दशकदेखि सत्तामा राज गरिरहेका तथाकथित तानाशाहहरूलाई लोकतन्त्रको अभियानका नाममा उखेलेर फालियो पनि । होस्नी मुबारक, कर्नल कद्दाफी आदि जस्ता त्यतिबेला विश्वमा चर्चित शासकको सत्ता अन्त्य भयो । त्यस्तै खालको सफलता सिरियामा पनि प्राप्त गर्न कोसिस गरियो तर असदलाई शासन सत्ताबाट हटाउन बितेको १३ वर्षदेखि लामो प्रतीक्षा गर्नु परेको देखियो । ‘अरब वसन्त’ को क्रममा सिरियामा विद्रोहरूलाई असदको शासनले कडा दमन गरेको थियो । हुन त उनले सत्ता समालेको एक दशक मात्र भएको थियो तर उनको राजनीतिक दृष्टिकोण तानाशाहको भन्दा अलिक भिन्न थियो ।
सन् १९६५ सेप्टेम्बर ११ मा जन्मेका असदको पारिवारिक पृष्ठभूमि राजनीतिक थियो । उनका पिता हाफिज अल असद सन् १९७१ मा सिरियाको राष्ट्रपति बने । अनि सन् २००० सम्म त्यस पदमा कायम रहे तर बसर अल असदले राजनीतिको साटो चिकित्सा क्षेत्रको बाटो पक्रे । उनी लण्डनमा आँखा उपचार चिकित्सा शिक्षा पढिरहेका थिए । सन् १९९४ जनबरीमा उनका ठुल्दाजु बासेलको मृत्यु भयो । जसलाई स्वभाविक रूपमा सिरियाको अर्को राष्ट्रपति मानिँदै थियो । यसरी ठुलो दाइको मृत्यु भएपछि बसर अल असद राजनीतिमा आए । पिताको मृत्यु पछि सन् २००० मा उनले राष्ट्रपति पदको शपथ लिए । सत्ता समाल्दै गर्दा उनले ‘पारदर्शिता, लोकतन्त्र, विकास र आधुनिकीकरण’ का कुरा गरेका थिए । छोटो समयका लागि भए पनि सिरियामा अभिव्यक्तिको स्वतन्त्रता, नागरिक स्वतन्त्रता जस्ता कुराले स्थान पाए । त्यसलार्ई ‘दमिस्क स्प्रिङ’ पनि भन्ने गरिएको थियो तर त्यो ‘वसन्त’ पनि चाँडै समाप्त भयो । अनि आफ्ना देश वरिपरिका छिमेकी देशमा बनिरहेको विपरीत परिस्थितिका कारण असदले पनि दमनकै बाटो पक्रिए । इराकमाथि अमेरिकी हमला, लेबनानको माध्यमबाट सिरियामाथि नियन्त्रण प्रयास, अरब वसन्त, इराकमा इस्लामिक स्टेटको उभार, गाजामाथि इजरायली हमला आदि बितेका डेड दशकका यी यावत् घटनाक्रमले असदलाई उनको पहिलाको राजनीतिक सोचभन्दा भिन्न र विपरीत काम गर्न बाध्य पारेको समेत यतिबेला विश्लेषण गरिँदै छ ।
पश्चिमा शक्तिहरूको सामना गर्नका लागि हिज्बुल्लाहको सहयोग र साथ सिरियालाई मिल्दै रह्यो तर प्यालेस्टिनीलाई सर्वनाश तुल्याउनुको सँगसँगै इजरायलले हिज्जबुल्लाहका पनि शीर्षस्थ नेताहरूलाई मारिदियो । फलतः यस पटक सिरियालाई साथ सहयोग दिने शक्ति हिज्जबुल्लाहमा पनि रहेन । इरानको पनि त्यस्तै हबिगत हुन पुग्यो । अर्कोतिर रुस पनि युक्रेन युद्धमा फँसेको स्थिति रह्यो । त्यसले गर्दा पछिल्लो पटक सिरियालाई रुसको मद्दत मिल्न सकेन । असदले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मद्दत मागेका थिए तर उनलाई त्यसमा पनि निराशा नै हात लाग्यो । ट्रम्पले पूर्व राष्ट्रपति बाराक ओबामाका नीतिहरूलाई जिम्मेवार ठहराए । साथै उनले यसको पछाडि रुसलाई पनि जिम्मेवार बताए । उनले भने यो हाम्रो लडाइँ होइन । अमेरिकाले यस लडाइँमा सामेल हुनु हुँदैन ।
विश्लेषकहरू भन्छन्, “गएको आइतबार अर्थात् ८ डिसेम्बरका दिन दमिस्कमा त्यस्तै स्थिति देखियो ।” जस्तो यसअघि अफगानिस्तान, श्रीलङ्का, बङ्गलादेश आदिमा देखिएको थियो । विमानस्थलमा भागभाग छ, मानिसहरू सुरक्षित बाहिर निस्कन चाहन्छन् त्यही अर्कोतिर मानिसहरू स्वतन्त्रताको खुसियाली पनि मनाइरहेका छन् । उता अर्कोतिर राष्ट्रपति भवनमा लुटपाट मच्चाउने, तोडफोड गर्ने जस्ता सिलसिला पनि चलिरहेका छन् । यसरी असद परिवारको शासनको दुःखद अन्त्य सिरियामा भएको छ तर अब के त्यहाँ शान्ति र सुखमय भविष्य छाउला र नागरिकले सुरक्षित महसुस गर्लान् ? भन्ने प्रश्न खडा छ । अब जुन सत्ता स्थापित होला त्यसको स्वरूप कस्तो हुने हो, महाशक्तिहरूको भूमिका र दबाबमा नआइकन कुनै सरकारको गठन होला यी गम्भीर महत्वपूर्ण प्रश्नहरूको सही उत्तर आउला कि नआउला अहिले प्रतीक्षाको विषय छ । त्यहाँ जनताले आफ्नो देशका आवश्यकता र स्थिति अनुकूलको जनलोकतन्त्र अपनाउन सके र त्यसका लागि शतत जागरूप भएमात्र तिनको भविष्य सुरक्षित हुने अहिलेसम्मको अनुभवले दर्शाउँछ ।