अमृतप्रसाद पौडेल
म्याग्दी, मङ्सिर २६ गते । म्याग्दीको बेनी नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरेर सामुदायिक बस सञ्चालन गर्ने भएको छ ।
७६ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा बेनीमा आयोजित कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले सामुदायिक विद्यालयका विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरेर सामुदायिक वस सञ्चालन गर्ने योजना बनाइएको बताउनुभएको हो ।
उहाँले सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दो क्रममा रहेकाले विद्यालयमा विद्यार्थी बढाउने मात्रै नभएर कमजोर आर्थिक अवस्था भएका विद्यार्थीको हितका लागि पनि बस सञ्चालनको योजना बनाएको बताउनुभयो । अर्थ मन्त्रालयसँग आवश्यक परामर्श गरी बस सञ्चालनको योजना लिएको उहाँले सुनाउनुभयो ।
नगरपालिका भित्र सडक सञ्जाल पुगेका क्षेत्रसम्म सामुदायिक बस सञ्चालन गर्ने र त्यो बसमा सामुदायिक विद्यालय पढ्ने जुनसुकै विद्यालयका विद्यार्थीले पनि सेवा लिन पाउने छन् ।
नगरप्रमुख केसीले राज्यले अङ्गिकार गरेको मताधिकार र बिवाहको उमेर अमिल्दो भएको बताउनुभयो । उहाँले राज्यको नीति निर्माणको तहमा जाने व्यक्ति छनोट गर्ने क्षमता हुने तर आफ्नो भविष्यको बारेमा सोच्ने क्षमतामा किन प्रश्न खडा गरियो भन्नुभयो ।
बिवाह र मताधिकारको उमेर एउटै हुनुपर्ने उहाँको तर्क थियो । कि मताधिकारको उमेर पनि २० वर्ष नै हुनुपर्छ होइन भने बिवाहको उमेर पनि १८ बनाउनतर्फ किन नसोच्ने ? उहाँको प्रश्न थियो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजन रायमाझीले डिजिटल माध्यमको बढ्दो प्रयोगले बालबालिका कुलतमा फस्ने गरेको सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘‘मोबाइलको बढी प्रयोग गर्ने बालबालिकालाई अभिभावकले सम्झाउँदा वा मोबाइल प्रयोग नगरभन्दा १०÷११ वर्षका बालबालिकाले आत्महत्या गरेका घटनाहरु म्याग्दीमा रहेका छन् ।’’
पब्जी र फ्रिफायर खेल्ने गरेका बालकलाई परिवारले नखेल भनेर सम्झाउँदा आत्महत्या नै गरेको जस्तो घटनाले अधिकार भन्दै मोवाइलजन्य डिजिटल आइटम बालबालिकालाई प्रयोग गर्न दिँदा ठुला दुर्घटनाहरु तर्फ पनि सचेत हुन पर्ने तर्क गर्नुभयो ।
निमित्त जिल्ला समन्वय अधिकारी अमृत सुवेदीले मुलुकमै रोजगारको अवसर सृजना गरेर वैदेशिक रोजगारीमा जानेको सङ्ख्यालाई घटाइनु पर्ने बताउनुभयो । मुलुकमा अहिले करिब १४ प्रतिशत सामाजिक सुरक्षामा खर्च हुने अवस्था रहेकाले त्यसलाई व्यवस्थीत गर्नपनि सोचिनु पर्ने उहाँको तर्क थियो । स्थानीय तहले पाठ्यक्रम निर्माण गर्दा आध्यात्मिक ज्ञान तथा नैतिक शिक्षालाई जोड दिनका लागि पनि उहाँले आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्मा, मानवअधिकार तथा शान्ति समाजका सभापति हरिप्रसाद पौडेल, गैसस महासंघ अध्यक्ष दिपक पौडेल लगायतले बोल्नु भएको थियो ।