गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २६ गते । सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण गर्ने कार्यलाई थप प्रभावकारी बनाउन सात सदस्यीय कार्यदल गठन गरिएको छ ।
सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशक समितिको मङ्गलबार बसेको बैठकले राष्ट्रिय समन्वय समितिका संयोजकलाई कार्यदलको संयोजक बनाउने गरी उक्त निर्णय गरेको हो । कार्यदलको सदस्यमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव, महान्यायधिवक्ता कार्यालयका नायब महान्यायधिवक्ता, नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर, अर्थ मन्त्रालयका सहसचिव, सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक र वित्तीय जानकारी एकाइका प्रमुख रहने निर्णय बैठकले गरेको छ ।
कार्यदलमा नेपाल राष्ट्र बैङ्कका निर्देशक सदस्यसचिव रहने व्यवस्था गरिएको छ । कार्यदलले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणमा काम गरिरहेका निकायसँग समन्वय गरेर काम गर्ने छ ।