कपिल ज्ञवाली
सिद्धार्थनगर, मंसिर २५ गते । लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) ले उपभोक्तालाई न्युनतम शुल्कमा शुद्ध खानेपानीको ब्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
उहाँले कमभन्दा कम शुल्कमा शुद्ध खानेपानीको ब्यवस्था गर्न आफूले आगामी बजेटमा त्यसको काम गरेर देखाउने दाबी गर्नुभयो । बुटवल उपमहानगरपालिका वडा –१३ मा रहेको वेलवास खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको खानेपानी ट्याङ्की शिलान्यासमा उहाँले उपभोक्ताबाट आवश्यक मात्र महसुल उठाएर सहज खानेपानी र न्युन शुल्कमा धारा जडान गरिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले यो आयोजनालाई बजेट अभाव हुन नदिने समेत प्रतिबद्धता जनाउनुभयो । जनतालाई न्युनतम शुल्कमा सेवा, सुविधा दिने हो, धेरै स्थानमा हामीले पनि देखेका छौँकि उपभोक्ता समितिहरु पनि सुविधामुखी हुनुभएन, सरकार साथमा छ । मिलेर राम्रो काम गरौँ’ उहाँले भन्नुभयो ।
बुटवल –१३ का १ हजार ५ सय घरधुरीलाई स्वच्छ खानेपानी आपूर्तिका लागि ४ लाख ५० हजार लिटर क्षमताको ट्याङ्की निर्माण हुनेछ । यस क्षेत्रमा भविश्यमा हुन सक्ने खानेपानी समस्या समाधान गर्न १ करोड ८५ लाख २९ हजारको लागतमा ओम–शुसिम कम्पनिले निर्माण गर्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख राजकुमार चौधरीले बताउनुभयो ।
उहाँले यस खानेपानी आयोजनाको कुल लागत १४ करोड ३९ लाख ४२ हजार रहेको र यसमा ६ किलोमिटर पाइप विछाइने बताउनुभयो । खानेपानी मन्त्रालयका सचिव वासुदेव पौडेलले खानेपानी योजना सफल बनाउन सिङ्गो समुदाय एकसाथ लाग्नुपर्ने बताउनुभयो ।
खानेपानी संस्थाका अध्यक्ष पुरूषोत्तम बस्यालले आफूहरुले यो योजनाका लागि बषौँदेखि लागेको र अब योजना सम्पन्न गर्न कम्मर कसेर अघि बढेको बताउनुभयो । उहाँले आजभन्दा ३०–४० वर्ष अघिसम्म यस क्षेत्रमा पानीको अभावले धेरै टाढाबाट पानी ओसार्नु पर्ने बाध्यता रहेको स्मरण गर्दै अब पानीको अभाव नहुने दाबी गर्नुभयो ।
सो अवसरमा संस्थाका उपाध्यक्ष जिवलाल पन्थी, सचिव जीवनाथ अर्याल लगायतले बोल्दै अब ट्याङ्की निर्माणपछि कम्तिमा ४० वर्षलाई स्वच्छ खानेपानी उपलब्ध हुने विश्वास गर्नुभयो । यो आयोजना अन्तर्गत ट्याङ्की निर्माणको काम बिस २०८२ पुस १३ गतेसकि सक्नुपर्ने ठेकादारसँगको सम्झौतामा उल्लेख छ ।