वीरगञ्ज (पर्सा), मङ्सिर २५ गते । खानेपानी मन्त्री प्रदीप यादवले नागरिकप्रति जनमुखी एवम् उत्तरदायी भएर खानेपानीका क्षेत्रमा काम गर्न निर्देशन दिनुभएको छ ।
मङ्गलबार पर्सास्थित नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगन्जको स्थलगत अनुगमन तथा निरीक्षण गर्दै मन्त्री यादवले नेपाल सरकारको प्रमुख लक्ष्य भनेको नागरिकलाई शुद्ध, सफा र सुरक्षित खानेपानी उपलब्ध गराउने भएकाले सोही अनुसार पानी वितरण गर्नसमेत निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, “प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको लक्ष्य भनेको नागरिकलाई शुद्ध र सुरक्षित पानी खुवाउनु हो, सरकारको लक्ष्यअनुसार नागरिकप्रति जनमुखी र उत्तरदायी भएर काम गर्न म तपाईँहरूलाई निर्देशन दिन्छु ।”
सोही क्रममा मन्त्री यादवले ‘सरकार एक घर, एक धारा’ भन्ने राष्ट्रिय लक्ष्यलाई साकार बनाउन लागि परेको समेत जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एक घर, एक धारा भन्ने राष्ट्रिय लक्ष्यलाई साकार बनाउन हामी लागि परेका छौँ, मन्त्रालय सबैमा खानेपानी र सरसफाइको पहुँच पुग्ने गरी कार्ययोजना तयार गरिरहेको छ ।”
खानेपानी संस्थान वीरगन्ज शाखाअन्तर्गतमा विनियोजित भएको बजेटलाई छिटोछरितो तरिकामा बोलपत्र आह्वान गरी कार्य अगाडि बढाउन र ‘टेन्डर’ प्रक्रिया सुरु भई सम्झौताको चरणमा रहेका खानेपानीको योजनालाई तत्काल कार्यान्वयनमा ल्याउनसमेत मन्त्री यादवले कर्मचारीलाई निर्देशन दिनुभयो ।
सो क्रममा नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जका प्रमुख प्रवीनकुमार साहले वीरगन्ज महानगरपालिका भरिमा कुल ११ हजार चार सय ५० खानेपानीको ग्राहक रहेका र उनीहरूलाई शुद्ध, सफा पानी वितरण गरिँदै आएको जानकारी दिनुभएको थियो । रासस