दाङ समाचारदाता
दाङ, मङ्सिर २५ गते । रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिकाका किशोरीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग भेट गर्दै समुदायका समस्या सुनाएका छन् । सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भेट गर्दै किशोरीले गाउँसमाजमा आफूहरूले भोगिरहेका समस्या मुख्यमन्त्री आचार्यलाई सुनाएका हुन् । उनीहरूले उज्ज्वल भविष्य र बलियो अभियान सञ्चालनका लागि १७ बुँदे मागपत्र मुख्यमन्त्री आचार्यलाई बुझाएका छन् ।
मुख्यमन्त्री आचार्यले किशोरीले राखेका समस्यालाई प्रदेश सरकारले सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । किशोरीले थालेको अभियानमा प्रदेश सरकारले साथ दिने बताउँदै उहाँले किशोर–किशोरीको स्वास्थ्य, शिक्षालगायत मनोसामाजिक क्षेत्रमा सहयोग पु¥याउने गरी कार्यक्रम बनाएको जानकारी दिनुभयो । समुदाय केन्द्रित जनजागरण अभियानलाई तीव्रता दिन, अभियानमा किशोर–किशोरीको सहभागिता सुनिश्चित गरिने पनि बताउनुभयो । “तपाईंहरूले उठाएका माग प्रदेश सरकारले सुन्छ । बालविवाह मुक्त प्रदेश बनाउने अभियानमा यहाँहरूको साथ सहयोग चाहिन्छ ।” उहाँले भन्नुभयो, “बनेका नीति, नियम तथा कानुनको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ ।”
बालविवाहको समस्या समाधान गर्न जनजागरण अभियानलाई तीव्र पार्नुपर्ने उहाँले बताउनुभयो । नीतिगत रूपमा प्रदेश सरकारले सम्बोधन गरेको र छुटेका विषयलाई आगामी दिनमा सम्बोधन गरिने पनि उहाँले जानकारी दिनुभयो । पुथाउत्तरगङ्गामा विकास र समृद्धि पु¥याउन प्रदेश सरकारले प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । “त्यस क्षेत्रको विकास नगरेसम्म समग्र लुम्बिनी प्रदेशको विकास हुन सक्दैन भन्ने कुरामा प्रदेश सरकार जानकार छ ।” उहाँले भन्नुभयो, “पुथाउत्तरगङ्गादेखि मर्चवारसम्मलाई माथि उठाउन सक्यौँ भने प्रदेशको समग्र विकास भएको मानिने छ । यस दिशामा सरकार अघि बढेको छ ।”
भूगोलबाट पछाडि परेको, जनचेतनाको अभावले पनि पछाडि परेका क्षेत्रको पहिचान गरेर प्रदेश सरकारले काम गर्ने उहाँले जानकारी दिनुभयो । समुदायमा अझै पनि जातीय छुवाछुत, दाइजो प्रथा, बोक्सीको आरोप लगाउने, छोट्टी बस्ने, बहुविवाह गर्ने जस्ता सामाजिक र सांस्कृतिक परम्पराको नाममा हुने हिंसा अन्त्यका लागि प्रदेश सरकारले भूमिका बढाउनुपर्ने किशोरीले माग राखेका छन् ।
स्वास्थ्य चौकीको स्थापना र सहज उपचार सेवादेखि खेल क्षेत्रको विकासका लागि खेलकुद मैदान र खेल सामग्रीको व्यवस्था गर्न माग राखेका छन् । घर र विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्था गर्नुपर्ने, बालबालिका र ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता समयमा आइ नपुग्ने, महिला, बालबालिका, एकल महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक र अतिविपन्नलाई सहज तरिकाले मासिक भत्ता लिने व्यवस्था मिलाउनुपर्ने माग राखेका छन् । मुख्यमन्त्रीलाई समस्या सुनाउन किशोरी सञ्जालमा आबद्ध स्मृति सेन, प्रतिमा पुन, आरती घर्ती, समृद्धि बुढा, सुप्रिया घर्तीलगायतका पुग्नुभएको थियो ।