• १२ पुस २०८१, शुक्रबार

मातृभूमिप्रतिको जिम्मेवारी

blog

नेपालको उन्नति, विकास र समृद्धिका लागि चाहिने पूर्वाधारको निर्माण नभएका होइनन्, गाउँ गाउँमा सडक पुगेका छन्, विद्यालय खुलेका छन्, स्वास्थ्य सुविधा, खानेपानी, विद्युत् पुगेका छन् । गाउँ सुनसान हुँदै गएको छ । यसको प्रमुख कारण गाउँमै केही हुन्छ, गाउँमै अवसर छ, गाउँबाटै समृद्धि हासिल हुन्छ भन्ने विश्वास जगाउन नसक्नु हो । मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक रूपमा हेर्दा यो चिन्ताको विषय हो । यसको अन्त्यका लागि केही आधारभूत काम तिनै तहका सरकारबाट एकल योजनाका साथ गर्नु पर्छ ।

आजको अवस्था नेपालमा अवसर छैन, यहाँ भविष्य छैन, विदेश जानुको विकल्प छैन भन्ने गलत भाष्य स्थापित भएको/गरिएको छ । गाउँमै केही हुन्छ भन्ने विश्वास दिलाउन सकिएको छैन । विदेश जानु अनिवार्य बाध्यता जस्तै बनाइएको छ । यो गलत अभ्यासलाई चिर्न समाजका हरेका वर्ग, क्षेत्र लागिपर्नु पर्छ । यसको पहिलो सर्त हो, गाउँमै विश्वास जागृत गर्न सक्नु । कसरी विश्वास जगाउने त ? यसका लागि सामान्य काम गर्दा काफी हुन्छ । जस्तो, गाउँमा कृषि, पशुपालनका लागि प्रेरित गर्ने, उनीहरूको उत्पादनलाई बजार व्यवस्थापन पालिका, प्रदेश र सङ्घीय सरकार तिनै निकायको संयुक्त पहलमा गर्ने । उत्पादित वस्तुले बजार र मूल्य राम्रो पायो भने रोजगारीकै लागि विदेश जानेहरू पक्कै पनि रोकिने छन् । उनीहरूलाई पनि रहर हुन्न परिवार छाडेर एक्लो, उराठ, निरस र कष्टपूर्ण जीवन विदेशमा बिताउन ।

नेपालमा अवसर नभएको भन्नु नै गलत हो । यहाँ अवसर नै अवसर छ । अवसर हुन्थेन भने भारत जस्तो विश्व अर्थतन्त्रको प्रमुख शक्ति देशले विप्रेषण भित्र्याउने १० मुलुकभित्र नेपाल पर्ने थिएन । यो कुनै मनगढन्ते कुरा होइन । यो तथ्यलाई हेर्दा यहाँ अवसर छ भन्ने कि छैन भनेर एकोहोरो युवा विदेश पलायनको मार्ग मात्र फराकिलो बनाइरहने कि युवालाई यहीँ अवसर छ भनेर विश्वास दिलाउने ?

आज गाउँ गाउँमा सडक पुगेको छ तर त्यो सडकको उपयोग छैन । सडक पुग्यो, यातायात चल्यो भने त्यहाँका उत्पादनले बजार पाउने वा बजारसम्म पुग्ने अवस्था हुनुपर्नेमा बनेका सडकको उपयोग नै हुन सकेको छैन । रित्ता गाउँमा पुगेका सडक अर्थात् श्रमशक्तिविहीन गाउँमा पुगेको सडकको उत्पादनमूलक उपयोगिता हुनै सकेको छैन । यस्तो वातावरण भत्काउनु पर्छ र यसका लागि श्रम, सिपको सम्मान र बजार व्यवस्थापनलाई जोड दिनु पर्छ । योजना सोही अनुसारको बनाउनु पर्छ । राजनीतिक लाभहानिलाई त्यागेर समाज हितको सोच राख्नु पर्छ । यसका लागि घरेलु तथा परम्परागत र वंशाणुगत पेसा र उद्योग अग्रस्थानमा आउँछ । 

वंशाणुगत पेसाको सम्मान

विविधतामा एकता कायम रहेको नेपाली समाजमा वंशाणुगत पेसा, व्यवसाय र सिप थियो र अद्यापि त्यो कायम छ । पछिल्लो समय त्यस्तो श्रम, सिप र उद्यमशीलतामा अनेक तगारा हालिएका छन् । संविधानले व्यवस्थित गरिएको ‘समाजवाद उन्मुख अर्थव्यवस्था’ को धज्जी उडेको छ । समाजसापेक्ष परम्परा ध्वस्त बन्दै गएका छन् । नेपाली समाजको बनावट समाजवादको सिद्धान्त अनुरूप रहेकोमा विमति राख्नुपर्ने कारण छैन । जातीय विशेषताका वंशाणुगत सिप र क्षमता लोप हुने अवस्थामा छन् । पेसा र सिपप्रति सम्मान नहुँदा परम्परागत पेसा, व्यवसाय छाडेर विदेश पलायन हुने क्रम बढेको छ । 

वंशाणुगत संस्कार, पेसा र सिप एक प्रकारका अलौकिक विशेषता यो भूखण्डका जातीय विशेषता नै हुन् । तिनको समुचित संरक्षण, संवर्धन र समयानुकूल विकासतिर ध्यान दिइएन । मानवीय शक्ति, सामथ्र्य र उच्चतम गुणवत्ता पूर्णतः ह्रास हुन पुग्यो । मानिसको व्यक्तित्व निर्माणमा अतुलनीय योगदान दिने र सुसभ्य, सुसंस्कृत र सौन्दर्यका साथै इज्जतको प्रतीक शिरदेखि पाउसम्मको आकर्षण थरी थरीका पोसाक तयार गर्ने कुशल ‘दमाईं’ हरूलाई जातीय राजनीतिको औजार बनाएर उनीहरूकै पिठिउँमा चढेर सत्तामा पुग्नेहरूले यो जातिको वंशाणुगत सिप र पेसाको उपयोग गरी तयारी पोसाक निर्यातक बनाउन कहिल्यै चाहेनन् । यो त प्रतिनिधिमूलक उदाहरण मात्र हो । 

समाजमा दुई जाति मात्रै छन् महिला र पुरुष । केही जातलाई दलित भनेर उनीहरूलाई विभिन्न प्रलोभनमा पारी राजनीति गर्नेहरूले उनीहरूको उन्नतिका खातिर केही गरेनन् । अझै भ¥याङ बनाउने काम गरिरहेका छन् । हरेक वर्षको असोज १ गते विश्वकर्मा भगवान्को पूजा गरिन्छ तर सिप र क्षमताका जिउँदा भगवान्लाई ‘दलित’ को संज्ञा दिएर भेदभाव गरिन्छ । विश्वकर्मा किन आफ्ना पूर्वज जस्तै पुज्य हुन पाएनन् वा सकेनन् ? परिणामतः कृषिकर्ममा उपयोग हुने औजारदेखि हातहतियार बनाउन सिपालु यिनीहरूको सिप, क्षमता र योग्यताको उपयोग गर्नुको साटो कुटो, कोदालोसमेत विदेशबाट आयात गर्नुपर्ने अवस्था बन्यो ।

वंशाणुगत गुण र सिप, श्रम तथा अन्य मानवीय प्रतिभाको दृष्टिमा यस्ता जातिहरूमा केही कमी थिएन यी त कलाका धनी थिए । सिप र जाँगर तथा स्वाभिमानी र स्वावलम्बी थिए । उनीहरूको जीवनशैली तथा संस्कार र संस्कृतिमाथि अतिक्रमण हुनाका साथै उनीहरूका जीवनधारका सबै क्षेत्र र साधन खोसिनु र उनीहरू स्वयम् कुण्ठाग्रस्त हुँदै जानु यसका प्रमुख कारण हुन् । यसको दोषी को र किन यस्तो अवस्था आयो ? यसको उत्तर खोज्ने हो भने नेपालमा केही भएन, केही अवसर छैन भन्ने अवस्थाको अन्त्य हुने छ । 

वंशाणु गुणका उच्चतम विशेषताको जगेर्ना गर्न त्यो वंशले आफ्नो कुल, परम्परा र मर्यादाका साथै कला, कौशल र रक्त शुद्धतामा पनि ध्यान दिएर तदनुरूप नै क्रियाशील हुँदै गर्दा विलक्षण प्रत्युत्पन्नमतिका सन्तान जन्मने अवधारणा शास्त्रले राखेको थियो । जुन जातिको आणुवंशिक विशेषतामा यस्ता गुण अवरुद्ध नभई निरन्तर वंशवृक्षमा पुस्तौँपुस्ता आए, ती जाति जीवनयात्राका क्रममा होस् वा कीर्तिमान कायम गर्ने कुरामा पछाडि परेनन् । यस्ता जाति भयमुक्त भएर विचरण गर्ने हुनाले कुनै सानो सङ्गठन वा कुनै धर्म र कुनै प्रकारको पनि सुरक्षा छाता ओडेर आफ्नो प्रतिरक्षा गर्न उद्यत हुँदैनन् । उनीहरू सम्मानित रूपमा आफ्नो पेसालाई अघि बढाउँदै आर्थिक, सामाजिक विकासमा अघि बढिरहन्छन् र त्यस्तो अवसर राज्यले दिनु पर्छ । यस्तो अवस्थाको अभावकै कारण देशमा केही भएन, केही हुँदैन भन्ने गलत मान्यता स्थापित हुँदै गएको छ । यसबाट देश वृद्धवृद्धाको आश्रयस्थल मात्रै बन्ने त होइन भन्ने चिन्ता बढ्दै गएको छ ।

मानिसको जीवनशैली, पेसा, व्यवसायमा मात्र होइन प्रकृतिको पनि संरक्षण गर्नु पर्छ र यसको रक्षा नै मानव जीवनको मात्र नभएर सृष्टि संरचनाकै रक्षा हुन्छ, सन्तुलित हुन्छ भन्ने मान्यता शास्त्रले दियो । त्यही शास्त्र पढेर, परम्परागत रूपमा सिकेर, बुझेर पितापुर्खाले जे गरे, त्यो सबै अवैज्ञानिक भन्दै मास्ने क्रम सुरु भएदेखि नै नेपाली समाजमा भाँडभैलो मच्चिन थालेको हो । कथित आधुनिकताका नाममा आफ्नो विशेषता र आफ्नोपन भुल्ने महाभुलको परिणाम आज वनजङ्गल, खोला, नदी, हिमालदेखि मानिस स्वयम्ले भोगिरहेको छ ।

आजको विडम्बना के भने आफूले आफैँलाई चिन्न नसकेर, आफ्नो क्षमतामा आफैँलाई विश्वास नगरेर, अरूको लहैलहैमा लाग्दा हातमुख जोर्नकै लागि विदेशमा कष्टपूर्ण श्रम गर्नुपर्ने बाध्यता आइलागेको छ । यो नेपाल भूमिको गल्ती होइन, नेपाल भूमिमा अथाह स्रोतसाधन छ अनि यहाँ श्रम गर्न सक्ने सिप भएका युवाको कमी छैन । कमी छ उनीहरूको श्रमको सम्मान र मूल्य ? ती दुई कुरा समाजमा स्थापित हुने हो भने नेपालमा अवसर छैन भन्ने भाष्य आफैँ खारेज हुने छ । नेपाली समाजलाई सहिष्णु, श्रममुखी, सिपमूलक बनाउँदै उद्यमशीलताको विकास गर्न वंशाणुगत सिप, कौशल प्रमुख आधार बन्न सक्छ । आज विभिन्न जिल्लाका घरेलु उद्योग कामदार नपाएर धमाधम बन्द हुँदै छन् । यस्तो अवस्था किन भन्दा देशमा श्रम र सिपको सम्मान र मूल्यको अभावले हो ।

कुनै पनि मुलुकको समृद्धिमा त्यो देशको श्रमशक्ति र कायम रहेको सिपको सबैभन्दा ठुलो हात हुन्छ । कठोर श्रम गर्न सक्ने क्षमता र अपार सिप भएका नेपाली नै समृद्धि नेपालको आधार हुन् र यो विश्वव्यापी रूपमा चिनिएको नेपालको मौलिक संस्कृति पनि हो । यही संस्कृति, सिप, श्रम र परम्परागत ज्ञानको उपयोग गर्दै क्षमता, दक्षता र माटो सुहाउँदो उद्यमशीलता विकसित गर्दै युवामा विकसित हुँदै गएको ‘यहाँ केही हुँदैन’ भन्ने गलत मान्यता भत्काउने जमर्को गर्दै स्वदेशमै केही अवसर छ, रोजगारी छ, समृद्धिको आधार छ भन्ने मान्यतालाई दह्रोसँग स्थापित गर्नु पर्छ ।

पूर्वीय समाजले व्यवस्था गरेको वर्णव्यवस्था जातीय विभेद नभएर आधुनिक अर्थशास्त्रको सिद्धान्त अनुसार श्रम विभाजन मात्र हो । श्रमलाई जातसँग होइन शास्त्रसम्मत सिप, कौशलसँग जोडेर यसको महत्व दर्साउन सकियो भने नेपाली समाजमा हराउँदै गएको आफ्नोपनको गौरव र विशेषता पुनस्र्थापित हुने छ । देशमा श्रम र सिपको सम्मान हुने छ, यसले युवा पलायन रोकिने मात्र होइन, आर्थिक समृद्धिमा नयाँ आधार खडा हुने छ । नत्र मातृभूमिप्रति अन्याय हुने छ ।  

Author

यादव देवकोटा