• ९ पुस २०८१, मङ्गलबार

बिमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २५ गते । झुटो जन्ममिति भएको नागरिकताको विवरण पेस गरेर सरकारी लाभ लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

आयोगले सोमबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । सिलवाललाई पटक पटक नागरिकता तथा राहदानी केरमेट गर्दै जन्ममिति संशोधन गरेको र जालझेल गरेर बनाएको नागरिकताका आधारमा राज्यकोषको दुरुपयोग गरेको आरोप आयोगले लगाएको छ । 

आयोगका अनुसार सिलवालले पहिलो पटक २०३२ फागुन २४ गते जिल्ला प्रशासन कार्यालय पर्साबाट नेपाली नागरिकता लिनुभएको थियो । नागरिकता प्राप्त गर्दा सिलवालको उमेर १६ वर्ष उल्लेख थियो । सिलवालले पछि २०६६ वैशाख ७ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकताको प्रतिलिपि लिनुभएको थियो । त्यतिबेला नागरिकताको प्रतिलिपिमा उहाँको जन्ममिति २०१६ कात्तिक २२ गते उल्लेख गरिएको आयोगले जनाएको छ । त्रिभुवन विश्वविद्यालयबाट जारी स्नातक तहको ट्रान्सक्रिप्टमा भने सिलवालको जन्ममिति  

२०१५ साउन १५ गते उल्लेख छ । आयोगका अनुसार त्रिविले जारी गरेको सोही ट्रान्सक्रिप्टको जन्ममितिकै आधारमा सिलवाल २०४३ साउन १ गते निजामती सेवाको राजपत्राङ्कित तृतीय श्रेणीमा प्रवेश गरेको अनुसन्धानबाट देखिएको छ ।

यही जन्ममितिलाई नै आधार मानेर गणना गर्दा हुने ५८ वर्ष उमेरहदका कारण सिलवालले २०७३ साउन १५ गते निजामती सेवाबाट अवकाशसमेत  लिनुभएको थियो । निजामती सेवाबाट अवकाश लिएपछि सिलवाललाई सरकारले २०७७ सालमा नेपाल बिमा प्राधिकरणको अध्यक्ष बनाएको थियो । 

सिलवालको नाममा त्रिविले जारी गरेको स्नातक तहको ट्रान्सक्रिप्ट र निजामती सेवा प्रवेश गर्दा पेस गरेको जन्ममिति एकै रहेको र सोही अनुसार निजामती सेवाबाट अवकाशसमेत लिएको देखिएको हुँदा २०८० साउन १५ गते ६५ वर्ष पूरा भएको देखिन्छ । कानुनमा ६५ वर्ष पूरा भएपछि सिलवाल प्राधिकरणको अध्यक्षबाट स्वतः अवकाश हुने व्यवस्था छ । 

अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ मा पनि पदावधि समाप्त हुनुअगावै नियुक्त वा मनोनयन भएका पदाधिकारी तथा सदस्यको उमेर ६५ वर्ष पूरा भएमा स्वतः अवकाश हुने छ भन्ने  स्पष्ट व्यवस्था छ । 

सोही व्यवस्था अनुसार स्वतः अवकाश हुनुपर्नेमा सिलवालले अझै पनि राष्ट्रसेवक पदमा रहेर लाभ, सुविधा र अधिकारको समेत प्रयोग गरिरहेका छन् । बिमा प्राधिकरणको अध्यक्ष हुने बेलामा भने सिलवालले आफ्नो जन्ममिति २०१६ कात्तिक २२ गते रहेको दाबी गर्नुभएको छ । जुन जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट जारी भएको नागरिकताको प्रतिलिपि अनुसारको जन्ममिति हो । 

जब कि उहाँले २०१५ साउन ४ गते पर्साबाट जारी भएको नागरिकताको जन्ममितिलाई नै आधार मानेर निजामती किताबखानाबाट निवृत्तिभरण अधिकारपत्र प्राप्त गरी २०७३ साउन १५ गते अनिवार्य अवकाश लिनुभएको थियो । 

निजामती सेवामा प्रवेशदेखि अवकाश पाउने बेलासम्मलाई एउटा जन्ममिति र बिमा प्राधिकरणको अध्यक्ष हुने बेलामा अर्को जन्ममिति प्रयोग गर्नुलाई आयोगले भ्रष्टाचार मानेको छ । सोही अभियोगमा आयोगले सिलवाललाई ६५ बर्से उमेर हदका कारण अवकाश पाउनुपर्ने मितिदेखि हालसम्म सुविधाबापत लिएको ३६ लाख ६२ हजार एक सय ५४ रुपियाँ बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताउनुभयो । साथै निजामती सेवामा नै बहाल रहेको अवस्थामा सिलवालले कूटनीतिक राहदानी र विशेष राहदानी प्राप्त गर्दा भरेको पासपोर्ट एप्लिकेसन फर्ममा आफ्नो जन्ममिति २०१८ कात्तिक २४ गते कायम गरेको समेत आयोगको अनुसन्धानबाट देखिएको छ । यस प्रकरणमा पनि सिलवाललाई थप कारबाहीको माग गरिएको छ ।