काठमाडाैँ, मङ्सिर २४ गते । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले चलचित्रका माध्यमबाट नेपाली समाजमा बालविवाह रोक्नुपर्ने बताउनुभएको छ ।
सोमबार काठमाडौँमा १२ औँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बालविवाह कानुनले प्रतिबन्ध लगाइसकेको भए पनि समाजमा अझै भइरहेको बताउनु भयो । बालविवाह रोक्नको लागि सिनेमाबाट जनचेतना अभिवृद्धि गर्नुपर्ने बताउनु भयो ।
सामाजिक परिवेशमा सिनेमाको माध्यमबाट बालविवाह रोक्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘बालविवाह कानुनले प्रतिबन्ध लगाइसक्यो । कानुनले प्रतिबन्ध लगाइसके पनि समाजमा चलिरहेको छ । कतिपय कुराहरू सामाजिक परम्पराअनुसार पनि हुन्छ । समाजमा रोकिएको छैन तर कानुनले प्रतिबन्ध लगाइसकेको छ । हामीले चलचित्रहरूमार्फत हामीले बालविवाहसम्बन्धी जनचेतना फैल्याउनु पर्छ । सामाजिक परिवेशमा सिनेमाको माध्यमबाट बालविवाह रोक्नुपर्छ ।’
कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले नेपालको प्रत्येक घरमा एउटा चलचित्रको कथावस्तु रहेकाले कथा खोज्न संसार धाउनु नपर्ने उल्लेख गर्नुभयो । उहाँले नेपाली कथालाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनुपर्ने दायित्व चलचित्र विकास बोर्डसामु रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामी नेपाली चलचित्रकर्मीहरू पछिल्लो समयमा चलचित्रको कथा भन्ने स्टाइलहरु फरक फरक तरिकाले आएको छ । नेपालको प्रत्येक घरमा एउटा कथा छ । प्रत्येक टोल र गाउँमा एउटा कथा छ । अब कथा हामीले संसारबाट खोज्नु पर्दैन । तर त्यो कथालाई इन्टरनेशनल प्ल्याटफर्ममा स्वकेसिङ गर्नका लागि टेक्नीकल्ली र नेटवर्कका हिसाबमा अघि जानुपर्छ । अबको चलचित्र विकास बोर्डले पनि अन्तर्राष्ट्रिय स्तरमा चलचित्र क्षेत्रको विकास गर्नुपर्छ ।’
अध्यक्ष दाहालले अबको चलचित्र विकास बोर्डले अन्तर्राष्ट्रिय स्तरमा चलचित्र क्षेत्रको विकास गर्नुपर्ने बताउनुभयो ।