गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २४ गते । ग्लोरी टिन एन्ड किड्स ट्यालेन्ट, २०२४ प्रतियोगिताका सहभागीले व्यक्तित्व विकास र टेबल म्यानरको प्रशिक्षण प्राप्त गर्नुभएको छ । हायात रिजेन्सीका लर्निङ एन्ड डेभलपमेन्ट म्यानेजर तथा आतिथ्य सेवा विशेषज्ञ विलास खत्रीले उहाँहरूलाई प्रशिक्षण दिनुभएको हो ।
उहाँले व्यक्तित्व निर्माणका विभिन्न पद्धति प्रस्तुत गर्दै सहभागीलाई जीवनमा डररहित भएर अगाडि बढ्न प्रेरित गर्नुभयो । ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाका अनुसार प्रतियोगिता कुनै साधारण सौन्दर्य प्रतियोगिता मात्र नभई प्रतिभा अभिवृद्धि गर्ने र बालबालिकालाई बहुआयामिक विकास गर्न मद्दत गर्ने उद्देश्यले आयोजना गरिएको हो । सहभागीले टेलिभिजन कार्यक्रम निर्माण, क्यामरा फेसिङ र मोडलिङ जस्ता सिप सिक्ने अवसर पाएको उहाँले जानकारी दिनुभयो । प्रतियोगिताको फाइनल मङ्सिर ३० गते हुने र विजेतालाई नगद पुरस्कार एवं नेपाल टेलिभिजनमा कार्यक्रम प्रस्तुति गर्ने अवसर दिइने पनि ओझाले बताउनुभयो ।