गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २४ गते । आन्तरिक राजस्व विभाग, भन्सार विभाग र राजस्व अनुसन्धान विभागले राजस्व चुहावटका जोखिमका क्षेत्र, वस्तु, नाका र समूह पहिचान गरी सूचना सङ्कलन गर्ने, विश्लेषण गर्ने तथा सोको कार्यान्वयनका लागि एकआपसमा सूचना आदानप्रदान गर्ने भएका छन् ।
आन्तरिक राजस्व विभाग, भन्सार विभाग र राजस्व अनुसन्धान विभागबिच अन्तरविभागीय प्रमुखको बैठकमा यस्तो प्रतिबद्धता गरिएको हो ।
राजस्व अनुसन्धान विभागको भिसिटिएस प्रणाली, भन्सार विभागको आसिकुडा वल्र्ड प्रणाली र आन्तरिक राजस्व विभागको एकीकृत सूचना प्रणालीमा प्रविष्ट भएका सूचनालाई एकआपसमा अन्तरआबद्धता कायम गरी कर परीक्षण तथा अनुसन्धान, भन्सार जाँचपास पछिको परीक्षण, बजार अनुगमन, गस्ती परिचालन आदिमा प्रयोग गर्ने बैठकको प्रतिबद्धता रहेको छ । यस्तै राजस्व चुहावट तथा कर छलीको सूचना दिन सरोकारवाला तथा सर्वसाधारणसँग आह्वान गर्ने बैठकले निर्णय गरेको छ ।
तीन वटै विभागबाट सूचनाका आधारमा प्रदर्शनीय प्रभाव पर्ने गरी संयुक्त गस्ती परिचालन गर्ने र कर छली गर्ने करदातालाई कारबाहीको दायरामा ल्याउने तथा शङ्कास्पद कारोबार र अनधिकृत गोदामको विशेष निगरानी गर्ने बैठकको प्रतिबद्धता रहेको छ ।
कर छली गर्ने मनसायले व्यक्तिगत खाताबाट व्यावसायिक कारोबार गर्ने प्रवृतिलाई रोक्न अन्तरनिकाय सूचना आदानप्रदान गर्ने र शङ्कास्पद कारोबारको निगरानी तथा अनुगमन गरी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता बैठकले गरेको छ ।
अन्तरविभागीय प्रमुखहरूको बैठकले राजस्व चुहावटका नयाँ प्रवृत्तिहरू पहिचान गर्ने, अनलाइन तथा सामाजिक सञ्जालको माध्यमबाट हुने व्यापारमा हुन सक्ने कर छली तथा व्यक्तिगत आयकर छलीलाई निरुत्साहित गर्ने प्रतिबद्धता गरेको हो ।