गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २४ गते । लामो समयदेखि चर्चामा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि छलफल गर्न सांसदहरूको अरुचि देखिएको छ ।विधेयकलाई अघि बढाउन सांसदहरूले चासो नदिँदा आइतबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अघि बढ्न सकेन । आइतबार दिउँसोका लागि बोलाइएको बैठकमा कुल सदस्यमध्ये सभापतिसहित १० जना सांसदको मात्रै उपस्थिति रह्यो । समितिमा २४ जना सदस्य रहनुभएको छ । समितिको बैठक सञ्चालन गर्न १३ जना सदस्य चाहिन्छ ।
आइतबार गणपूरक सङ्ख्या नपुगेकाले सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको समितिका सचिव दशरथ धमलाले बताउनुभयो । उहाँका अनुसार समितिका केही सदस्य बिरामी परेको, केही सदस्य स्थानीय तहको उपनिर्वाचनमा जानुभएको तर नफर्कनुभएको कारण समितिमा उपस्थित हुन नसकेको समितिले जनाएको छ ।
समितिको सचिवालयले बैठक आह्वान गर्नुअघि समितिका सबै सदस्यलाई फोन गरेर तथा सन्देश पठाएर जानकारी गराउने गरेको छ । यसरी बैठकबारे जानकारी गराएपछि गणपूरक सदस्यले आउँछु भनेपछि मात्रै बैठक बसाउने चलन छ ।
यस पटक पनि समितिको बैठकका लागि जानकारी गराउँदा कोरम पुग्ने सदस्यले बैठकमा आउँछु भनेको तर बैठक सुरु हुने बेलामा नआएको समितिले जनाएको छ ।