कपिल ज्ञवाली
सिद्धार्थनगर, मंसिर २३ गते । रुपन्देहीमा दुई दिने प्रथम मगर साहित्य महोत्सव सम्पन्न भएको छ । समापनको अवसरमा नेपाल मगर महिला संघका अध्यक्ष हिरु राना मगरले समुदायको गर्विलो ईतिहासबारेमा नयाँ पस्तालाई समेत जानकारी गराउनु पर्ने बताउनुभयो ।
भाषा, साहित्य र परम्पराको संरक्षणबाट मात्र सम्पूर्ण जातिको पहिचान र बिकास सम्भव रहेको बताउँदै उहाँले सम्पूर्ण मगरलाई एकताको सुत्रमा बाँधिन आग्रह गर्नुभयो ।
बुटवलको जितगढी किल्लामा दुई दिनसम्म आयोजना गरिएको महोत्सवमा विभिन्न साहित्यिक विधामा अन्तरसम्वाद, कविता बाचन प्रतियोगिता, पुस्तक प्रदर्शनी, चित्रकदा प्रदर्शनी, साँस्कृतिक प्रस्तुति लगायतका कार्यक्रम भएका छन् ।
नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा शुक्रबारदेखि भएको महोत्सव अन्तर्गत सम्पन्न मातृभाषा कविता बाचन प्रतियोगितामा सुर्खेतका मनबहादुर बगाले प्रथम हुनुभयो । उहाँलाई नगद १० हजारसहित प्रमाणपत्रले सम्मान गरिएको छ ।
यसैगरी सिन्धुलीका भवानी आले द्वितीय भई नगद ७ हजार पुरस्कार राशी प्राप्त गर्नुभयो । रुकुमका गोपाल पुन तृतीय भई नगद ३ हजारसहित प्रमाणपत्रले सम्मानित हुनुभयो । यसैगरी सान्त्वना हुने अविनास आले र रिम रानालाई समेत नगद पुरस्कारले सम्मान गरिएको छ ।
यसैगरी आदिकवि जितबहादुर सिञ्जाली तथा रेखबहादुर सारु मगर साहित्य पुरस्कारबाट वरिष्ठ पत्रकार तथा राष्ट्रिय समाचार समितिका पूर्व सम्पादक खिलध्वज थापा मगरलाई सम्मान गरिएको छ । उहाँलाई नगद २० हजार राशीसहित दोसल्ला, फेटा र मायाको चिनोले सम्मानित गरिएको थियो ।
महोत्सवमा स्थापना गरिएको गोरेबहादुर खपाङ्गी मगर सामाजिक योगदान पुरस्कारबाट नेपाल मगर संघका सहअध्यक्ष गंगा खासुमगरलाई प्रदान गरिएको छ । उहाँलाई नगद १० हजारसहित दोसल्ला र मायाको चिनोले सम्मान गरिएको छ ।
समापन कार्यक्रममा महोत्सव सफल पार्न योगदान गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ । समापनको अवसरमा आयोजक समितिका संयोजक तथा नेपाल मगर महिला संघ रुपन्देहीका अध्यक्ष निर्माला थापा, युवा नेता शंकर गाहा, यम राना, मेला व्यवस्थापन समिति संयोजक केशरी तराम्, जेबी दर्लामीलगायतले धारणा राख्नुभयो ।